पूर्वाञ्चल खबर
माहानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नो प्रतिबद्धता अनुसार शतप्रतिशत काम भएको दाबी गर्नुभयो । ‘हामीले पदभार ग्रहण गरेको दिन घोषणा गरेको प्रतिबद्धता अनुसार शतप्रतिशत काम भएको छ,’ मेयर पराजुलीले भने, ‘१ सय पूर्णाङ्कमा १ सय नै ल्याएका छौं ।’
मेयर पराजुलीले सतप्रशित अंक पाउनेगरी काम गरेको दावी गरेपनि उपमेयर इन्दिरा कार्कीले नै त्यसको खण्डन गरेकी छिन्। महानगरपालिकाका उपमेयर कार्कीले भने सयमा ५० अंक पाउनेगरी काम गरेको बताए । ‘काम त हामीले सबै पुरा गरेका छौं, तर नम्बर नै दिनुपर्दा ५० भन्दामाथि दिँदा हामीलाई न्याय हुन्छ जस्तो लाग्छ,’ कार्कीले भने, ‘जनताको अपेक्षा अनुसार एकैपटक धेरै गर्न नसकेको भने सत्य हो ।’
नगरपालिकाले पदभार ग्रहण गर्दा मेयर पराजुलीले सय दिनभित्र हिलो, धूलो र खाण्डाखुल्डीको समस्या समाधान गर्ने निर्णय गरेका थिए । तर, विराटनगरका सडक निर्माणमा खासै प्रगति भएको अवस्था छैन । धुलो हटाउन नगरपालिकाले बजार क्षेत्रका सडकमा पानी छर्कने काम भने गरिरहेको छ ।
पदभार ग्रहण गरेकै दिन छोरी बचाउ अभियान सञ्चालन गर्ने, वृद्धवृद्धालाई घरघरमै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने, विराटनगरलाई मोतियाबिन्दु मुक्त सहर बनाउने निर्णय पराजुलीले गरेका थिए । यी सबै प्रतिबद्धता पुरा भएको उहाँको दावी छ । साउन अन्तिममा आएको बाढी र निर्वाचनका कारण काममा ढिलाई भएपनि सबै काम अगाडि बढिरहेको उहाँले जिकिर गरे ।
नेकपा एमाले विराटनगरका नगर इन्चार्ज सागर थापाले भने माहानगरपालिकाको काम गराइले जनतामा निराशा छाएको बताए । ‘जुन बिरालो आएपनि मुसा नमार्ने रहेछ भन्ने सन्देश गएको छ,’ थापाले भने, ‘नयाँ यााजना बनाएको भएपनि कार्यान्वयन भएको छैन । चलिरहेका योजना पनि राम्रोसँगले चलेको देखिएको छैन,
विराटनगर अस्तव्यस्त छ, जनताले जस्तो सोचेको थिए त्यस्तो अपेक्षा पुरा भएन ।’
नेकपा माओवादी केन्द्र विराटनगरकी संयोजक नमिता न्यौपानेले सुशासन र पारदर्शीतामा नगरपालिकाले अहिले पनि पुरानै ढर्राको प्रणाली कायम राखेको दाबी गरे । ‘नगरपालिकाले दिने सेवा, सुविधामा ढिलासुस्ती, पारदर्शीताको अभाव र प्रतिबद्धता अनुसार काम भएको देखिएन,’ न्यौपानेले भन्नुभयो, ‘सस्तो लोकप्रियताका लागि बोल्ने र केही गतिविधि गर्नेभन्दा जनताको वास्तविक समस्याको समाधानतिर पहल भएको देखिएन ।’
सुविधाको निर्णय भने गरेनन्
देशका कतिपय स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिने निर्णय गरेर विवादित बनेपनि यसबाट महानगरका जनप्रतिनिधि भने बचेका छन् । निर्वाचित भएको ६ महिना पुगिसक्दा कुनै कुनै आर्थिक सुुविधा नलिएर काम गरिरहेको उपमेयर कार्कीले बताए । यद्यपी मेयर र उपमेयरले सुविधाको गाडी भने प्रयोग गरिरहेका छन् ।
कानून निर्माण भएर तलब तथा सुविधा नतोकिएसम्म आफैं कुनै निर्णय नगर्ने र हामी स्वयंसेवक भएर काम गर्ने कार्कीको प्रतिबद्धता । यो खबर आजको जनविद्रोह दैनिकमा छापिएको छ ।