५ मंसिर,विराटनगर / पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनः अनन्तले मधेशी मोर्चाको सहमति बिना संविधान संशोधन गर्नुको औचित्य नहुने बतएका छन् ।
प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले आन्दोलनरत मधेशी दलको सहमति बिना संशोधन गर्नु आवश्यक नभएको बताएका हुन । ‘संविधान संशोधनको मुद्दा नै, मोर्चाको मागका आधारमा गर्न लागिएको हो,’ उनले भने, ‘उहाँहरुको सहमति बिना संशोधन गर्नु आवश्यक छैन ।’
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको पछिल्लो अभिव्यक्ति धम्कीपूर्ण भएको भन्दै नेता अनन्तले जिम्मेवार नेताले यस्ता अभिव्यक्ति नदिँदा राम्रो हुने बताएका छन् । केही दिनअघि यादवले १० प्रदेश भएमात्रै आफूहरुले संविधान संशोधनको प्रस्ताव मान्ने बताएका थिए । ‘उपेन्द्रजीले दिनुभएको अभिव्यक्ति धम्कीपूर्ण छ,’ नेता अनन्तले भने, ‘सरकार र प्रधानमन्त्रीले गरेको सकारात्मक पहललाई स्वीकार गर्दै सहमतिमा जानु आवश्यक छ ।’
मधेशी मोर्चासँग समयमै सहमति नहुने हो भने सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्नु पर्ने अनन्तले बताएका छन् । ‘चैत्र मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सहमति नभए पनि संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनु आवश्यक छ ।’
संक्रमणकालिन न्याय टुंग्याउनु आवश्यक
पत्रकार सम्मेलनमा शान्ति प्रक्रिया १० वर्ष पुगेको विषयमा बोल्दै नेता अनन्तले सेना समायोजन र राजनीतिक रुपान्तरणको काम सम्पन्न भएपनि संक्रमणकालिन न्यायको टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।
‘१० वर्षे जनयुद्धको अन्त्य पछि, सामाजिक रुपान्तरण तर्फ देशलाई लाने चुनौति छ,’ नेता अनन्तले भने, ‘विकास, समृद्धि र पूर्वाधार निर्माण लगायतका काम अघि बढेपछि मात्रै शान्ति प्रक्रियाको औचित्य सिद्ध हुन्छ ।’ त्यसका साथै भएको राजनीतिक रुपान्तरण समावेशी, संघीयता, मौलिक अधिकारलगायतका विषय कार्यान्वयन गर्नु आवश्यक भएको उहाँको भनाइ थियो ।