पूर्वाञ्चल खबर
पुलिसले आयोजक सुरुङ्गा–११ लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु दर्शकको समर्थन पाएका सुरुङ्गाका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
खेल सुरु भएको ४ मिनेटमै पुलिसका दिनेश गुरुङले गोल गरे । पुलिसमा कप्तान जुमानु राईको प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्स भएको बललाई सदुपयोग गर्दै गुरुङले गोल गर्न सफल भए ।
२९ औँ मिनेटमा तेज तामाङले गोल गरी पुलिसको अग्रता दोब्बर बनाए । भोला सिलवालको पासलाई सदुपयोग गर्दै तामाङले गोल गरेका थिए ।
मध्यान्तर पछि पुलिस आक्रमक खेल खेल्दै दुई गोल थप्यो । ५० औं मिनेटमा निरकुमार राईले गोल गरे । ५४ औं मिनेटमा जुमानु राईले गोल गर्दै ४–० को अग्रता बनाए । आयोजकले गोल फर्काउने केही अवसर पाए पनि सदुपयोग गर्ने सकेन । पुलिसका निलकुमार राई म्यान अफ द म्याच घोषित भए ।
सुरुङ्गा जेसिजद्धारा आयोजित प्रतियोगितामा च्याम्पियन टोलीले नगद ३ लाख ५१ हजार १ सय ११ नगद तथा ट्रफी र उपविजेताले २ लाख ५१ हजार १ सय ११ नगद तथा ट्रफी हात पार्ने छ ।