पूर्वाञ्चल खबर
एपिएफले उपाधिसहित ११ लाख रुपैयाँ र आकर्षक ट्रफि प्राप्त गरेको छ । उपविजेता भएको त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
निर्धारित ९० मिनेटमा आर्मीसँग १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफले ४–२ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्याे ।
एपिएफकी गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटीले गोल गरे भने आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए । आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफका गोलकिपर एञ्जिला तुम्बापोले बचाइन् ।
यसअघि खेलको ३१ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन् । एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।
एपिएफले खेलको ६० औँ मिनेटमा बराबरी गोल ग¥यो । रश्मिकुमारी घिसिङले डि–एरियाको साइड एङ्गलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो । खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतिोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् । त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो ।
विजता तथा उपविजेतालाई, प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लगायतले पुरस्कार वितरण गरेका थिए ।