पूर्वाञ्चल खबर
नेपालगञ्जस्थित पौडी पोखरीमा भएको १०० मिटर ब्रेस्ट स्ट्रोकमा विकासले स्वर्ण पदक जितेका हुन् ।
विकासले जितेको यो तेस्रो गोल्ड मेडल हो । यसअघि विकासले पौडीको ५० मिटर र २०० मिटर ब्रेस्ट स्ट्रोक विधामा स्वर्ण पदक जितेका थिए । ५० मिटरमा कुमालले नेपाल आर्मी क्लबका जडेन श्रेष्ठ र नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठलाई हराएका थिए ।
यसका साथै उनले राष्ट्रिय कीर्तिमान बनाएका थिए । विकासले ५० मिटर ब्रेस्टस्ट्रोकमा दूरी ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् । यसअघि विकासले ११औं एनएसए कप पौडी प्रतियोगिता सन् २०२३ मा काठमाडौंमा ३० दशमलव ६६ सेकेण्ड राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले यसपटक आफ्नो पुरानो कीर्तिमानमा शून्य दशमलव शून्य दुई सेकेन्ड सुधार गरेका हुन् ।
यस विधामा विकासले ३०.८४ सेकेण्डमा पूरा गर्दा आर्मीका जडेनले ३१.१३ र पुलिसका इर्भिनले ३१.६० सेकेण्डमा पूरा गरेका थिए । बिहीबार भएको १०० मिटरतर्फको ब्रेस्ट स्ट्रोकमा पनि विकासले राष्ट्रिय कीर्तिमानी हासिल गरेका थिए ।
विकासले दुई मिनेट ३४.३६ सेकेण्डमा पूरा गरेका थिए । यसअघि २०२३ मा उनले दुई मिनेट ३४.७४ सेकेण्डमा पूरा गरी रेकर्ड बनाएका थिए । यस विधामा दोस्रो भएका अथर्वले दुई मिनेट ४०.५ सेकेण्डमा पूरा गर्दा आर्मीका श्रेष्ठले दुई मिनेट ४४.९६ सेकेन्डमा पूरा गरे ।
संखुवासभाको तुम्लिङटार घर भएका विका हाल अमेरिकाको केन्टकीस्थित क्याम्पबेल्सभिल युनिभर्सिटीबाट पौडीको ट्रेनिङ लिइरहेका छन् ।
कोशीको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा सहभागी भएका उनले ‘ब्याक टु ब्याक’ स्वर्ण जितेर प्रदेशको गौरवलाई थप उँचो बनाएको कोशी पौडीका प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए ।
यता, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले तीन वटा स्वर्ण जितेर सनसनी रचेका विकासलाई नगद पुरस्कारका साथै मासिक रूपमा प्रोत्साहन भत्तासमेत दिइने प्रतिबद्धता जनाए ।