पूर्वाञ्चल खबर



निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताए।
उपन्यासकार भट्टराईले काठमाडौंमा मात्रै सीमित रहेको ‘समर लभ’ पहिलोपटक विराटनगरमा मञ्चन हुनुलाई विशेष उपलब्धिका रूपमा लिएको बताए। काठमाडौंका दर्शकबाट पाएको मायाजस्तै विराटनगरका दर्शकबाट पनि माया पाउने उनको अपेक्षा छ।
कान्तिपुर थिएटरको यो छैटौँ प्रस्तुति हो। यसअघि विराटनगरमा मञ्चन गरिएको ‘सेतो धरती’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि ‘समर लभ’ ल्याइएको थिएटरका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए। काठमाडौं बाहिरका दर्शकमाझ नेपाली रंगमञ्च विस्तार गर्ने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने तयारी रहेको उनको भनाइ छ।
करिब डेढ दशकअघि प्रकाशित ‘समर लभ’को लोकप्रियता अझै युवा पुस्तामाझ कायम रहेको पुरीले बताए।
विराटनगरमा आज र आइतबार गरी दुई दिन छ वटा शो तय गरिएको छ। दुवै दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ। आयोजकका अनुसार टिकट कान्तिपुर थिएटरको वेबसाइटबाट बुक गर्न सकिनेछ।