पूर्वाञ्चल खबर
मंगलबार राति करिब ११ः१५ बजे कोशी लोकमार्गअन्तर्गत पानीपिया जंगलको ४ नम्बर ट्यांकी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको बा २ च ९५७३ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकका पोकामा प्याक गरिएको गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ। एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको छ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक भने घटनास्थलमा थिएनन्। चालक फरार रहेकाले उनको खोजी भइरहेको छ। बरामद गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
एम्बुलेन्स कसको नाममा रहेको हो, गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। एम्बुलेन्स लागुऔषध ओसारपसारमा प्रयोग हुनु स्वास्थ्य सेवाको साधन दुरुपयोगको गम्भीर विषय भएको प्रहरीले जनाएको छ।