AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल पूर्व प्रहरी संगठन परिवारको अध्यक्षमा बद्रीविक्रम थापा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०८३, सोमबार १६:१०
3
Shares
विराटनगर/ नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्यसमितिको तेस्रो साधारणसभा विराटनगरमा सम्पन्न भएको छ।

साधारणसभाले पुर्व प्रहरी नायब उपरिक्षक बद्रीविक्रम थापाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

विराटनगर–४ बस्ता टोलस्थित संगठनकै भवनमा भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक इन्द्रराज रिजाल चयन भएका छन्। उपाध्यक्षमा पूर्व प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद बराल, सचिवमा पूर्व प्रहरी नायब निरीक्षक धर्मराज न्यौपाने र सहसचिवमा पूर्व प्रहरी निरीक्षक अशोककुमार सिंह चयन भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक बाबुराम न्यौपाने र सहकोषाध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक टीकादेवी ठकुरी चयन भएका छन्। अध्यक्ष थापाले कार्यसमितिमा थप पाँच जना सदस्य मनोनयन गरिने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पूर्व प्रहरीबीचको एकता र संगठनको श्रीवृद्धिमा जोड दिए। पूर्व प्रहरीको अनुभव र योगदानलाई समाजहितमा उपयोग गर्दै संगठनलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

साधारणसभामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा उत्कृष्ट कार्य गर्ने संगठनका इकाइलाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकतर्फ रेवतबहादुर थापासहित छ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी उद्योग–व्यवसाय क्षेत्रमा योगदान पुर्‍याएका राजन डाँगी र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका बुद्धि दराईलाई सम्मान गरिएको थियो। उत्कृष्ट कार्य गरेको भन्दै मिक्लाजुङ र सुन्दरहरैँचा इकाइलाई पनि सम्मान गरिएको थियो।

साधारणसभामा शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ‘विप्लव थापा गोदार स्मृति शिक्षा पुरस्कार’ प्रदान गरिएको छ। संगठनका अध्यक्ष थापा र विमला थापाले आफ्ना पुत्र विप्लव थापा गोदारको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार कक्षा ५ मा अध्ययनरत पूर्व प्रहरी सन्तति साम्राज्ञी पाण्डेलाई प्रदान गरिएको हो। पाण्डेले नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।

कार्यक्रममा ४५० भन्दा बढी पूर्व प्रहरी तथा शुभेच्छुकको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्व प्रहरी नायब उपरीक्षक कविन्द्र कार्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर