पूर्वाञ्चल खबर
सिलिन्डरमा ग्यास कम भरेर र रित्तो भाँडोको तौलमा समेत प्राविधिक खेलबाड गरी उपभोक्ताको ढाड सेक्ने काम गरेको पुष्टि भएपछि प्रशासनले उद्योगलाई कारावही गरेको हो ।
बजार अनुगमनका क्रममा गम्भीर कैफियत र बदमासी भेटिएपछि बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार अनुगमन टोलीले उद्योगमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको आकस्मिक तौल परीक्षण गर्दा भयावह तथ्य बाहिर आएको हो । एउटा सिलिन्डरमा नियम अनुसार १४.२ केजी ग्यास हुनुपर्नेमा मात्र १३.७४५ केजी भेटिएको थियो । बाँकी ६३ वटा सिलिन्डरमा पनि मापदण्डभन्दा कम औसत १४.१८५ केजी ग्यास भरेर उपभोक्तालाई ठगिएको पाइएको छ ।
यति मात्र होइन, उद्योगले रित्तो सिलिन्डरको तौलमा समेत १०० देखि १५० ग्रामसम्म बढी देखाएर उपभोक्तालाई कम ग्यास दिने ‘नियोजित प्रपञ्च’ मिलाएको प्रशासनको ठहर छ । अनुगमनको सुइँको पाएपछि कारबाहीबाट बच्न अत्यावश्यक सेवाअन्तर्गतको उद्योग नै बन्द गरेर लुक्न खोजेकाले कोशी ग्यासमाथि थप कानुनी प्रक्रियासमेत अघि बढाइएको छ ।
प्रशासनलाई नटेर्ने श्रीकृष्ण ट्रेडर्सलाई पनि कारबाही
यसैगरी, सरकारी टोलीको निरीक्षण कार्यमा अवाञ्छित अवरोध गर्ने र असहयोग गर्ने विराटनगर–७ स्थित श्रीकृष्ण ट्रेडर्स पनि कारबाहीबाट उम्किन पाएन । अनुगमन टोलीलाई जाँचबुझमा टेरपुच्छर नलगाउने उक्त ट्रेडर्सलाई प्रशासनले तत्काल ११ हजार रुपैयाँ जरिवाना गर्दै सचेत गराएको छ ।
‘जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्वको मुखमा बजारमा मौलाउने कालोबजारी र उपभोक्ता ठगी विरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पारेको छ । सहायक प्रजिअ कोइरालाले एलपी ग्यास जस्तो संवेदनशील वस्तुमा हुने यस्ता अपराध अक्षम्य हुने भन्दै आगामी दिनमा अझै कडा र निर्मम ढंगले अनुगमन परिचालन गरिने चेतावनी दिएका छन् ।