पूर्वाञ्चल खबर
विराटनगरको एभरेष्ट कलेजको खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा छात्र तर्फ झुनास फिट्नेस धरान र छात्रा तर्फ ग्रान्डे स्टार्स काठमाण्डौ ले उपाधि हात पारेका छन्।
फाइनल खेलमा छात्रतर्फ उपाधि भिडन्तमा झुनासले आयोजक टोलीलाई २१–१० को फराकिलो अन्तरले पराजित गर्यो । झुनासका सर्बो राई च्याम्पियनसिपको छात्र तर्फ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। त्यसैगरी छात्रा तर्फ ग्रान्डे स्टार्सले युवा जागृति धरान लाई २०–२ को स्कोरमा हराउँदै एकपक्षीय जित निकाल्यो । यस च्याम्पियनसिपमा छात्रातर्फ ग्रान्डे स्टार्सकी रिन्छेन मोक्तान उत्कृष्ट खेलाडी चुनिन।
प्रतियोगिताका विजेता टोलीहरूले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे। त्यसैगरी उप–विजेता टोलीहरूले नगद २५ हजार रुपैयाँ प्राप्त गरे भने विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो।
एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। कार्यक्रममा एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल कुन्दन पुरी, मोरङ जिल्ला बास्केटबल संघका उपाध्यक्ष अनिल राई, र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अनुभव दाहाल, आयोजक संस्था विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, ओ वी मिडिया का अध्यक्ष विवेक दाहाल र दिपालका सेल्स एक्जुकेटिभ महेश नेपालीले विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरे।
गत १५ वर्षदेखि ग्रासरुट बास्केटबल विकासमा सक्रिय एकेडेमी ले आयोजना गरेको यस प्रतियोगिताले नेपालमा बास्केटबलको इकोसिस्टमलाई थप बलियो बनाउने विश्वास लिइएको छ।