पूर्वाञ्चल खबर
चालु आर्थिक वर्षको चैत मसान्तसम्म डिजेल आयात १० लाख ३५ हजार ३३ किलोलिटर पुगेको छ । फागुनसम्म यो परिमाण ८ लाख ९६ हजार ४४८ किलोलिटर थियो । यस आधारमा चैत महिनामा मात्रै १ लाख ३८ हजार ५८५ किलोलिटर डिजेल खपत भएको देखिन्छ, जुन अघिल्लो महिनासम्मको औसत मासिक खपत (१ लाख १२ हजार ५६ किलोलिटर) भन्दा उल्लेख्य रूपमा बढी हो।
खपतसँगै डिजेलमा हुने खर्च पनि तीव्र रूपमा बढेको छ । फागुनसम्म कुल डिजेल खपतमा १० अर्ब २१ करोड रुपैयाँ खर्च भइरहेकोमा चैतमा पुग्दा यो बढेर २१ अर्ब २० करोड रुपैयाँ पुगेको छ, अर्थात् खर्च करिब दोब्बर नजिक पुगेको छ।
पेट्रोलतर्फ भने खपतमा सामान्य गिरावट देखिएको छ । फागुनसम्म मासिक औसत ६३ हजार ९८८ किलोलिटर रहेको पेट्रोल खपत चैतमा घटेर ५६ हजार ४५९ किलोलिटरमा सीमित भएको छ । तर, मूल्यवृद्धिको प्रभावका कारण खर्च भने उल्टै बढेको छ—मासिक औसत ५ अर्ब ४८ करोड रुपैयाँबाट चैतमा ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
विश्लेषकहरूका अनुसार पेट्रोल मुख्यतः व्यक्तिगत प्रयोजनमा प्रयोग हुने भएकाले मूल्य बढ्दा माग घट्ने प्रवृत्ति देखिन्छ । तर डिजेल भने निर्माण, ढुवानी र औद्योगिक क्षेत्रमा प्रयोग हुने भएकाले यसको माग मूल्यप्रति कम संवेदनशील हुन्छ।
इन्धन खपत अपेक्षाअनुसार नघटे पनि राजस्व संकलनमा भने वृद्धि देखिएको छ । चैत महिनामा मात्रै डिजेल आयातबाट ४ करोड २५ लाख १९ हजार रुपैयाँ र पेट्रोलबाट ३ करोड २३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।
हाल डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा नोक्सान भइरहेको भए पनि पेट्रोलमा भने उल्लेख्य घाटा छैन। दुईदिने सार्वजनिक बिदाले निजी सवारी र सार्वजनिक यातायातको प्रयोगमा केही कमी ल्याए पनि निर्माण र औद्योगिक गतिविधिमा वृद्धि हुँदा डिजेल खपत समग्रमा घट्न नसकेको निष्कर्ष निकालिएको छ।