पूर्वाञ्चल खबर
आज बिहान चिसो हावामा भजनको भावमा रमाउँदै हिँड्दै थिएँ। सडकमा खसेको पात पानीले भिजेको थियो। त्यही पानीमा देशको प्रतिविम्ब झल्किएको पाएँ । त्यो प्रतिविम्बले मनमा अनौठो खालको हलचल ल्यायो।




तब किन पोशाकको रंग र डिजाइनमा ध्यान दिइँदैछरु अब बाढी, पहिरो लगायतको प्रकोपले घेर्न दुई महिना पनि बाँकी छैन। सरकारको ध्यान त्यो प्रकोप रोक्नतिर जानुपर्ने होइन ररु फेरि ध्यान किन पोशाकको रङतिर ? प्रहरीका पोशाक पुराना भए,च्यातिए वा खुइलिए भने नयाँ पोशाक किनेर दिउ। तर रंग मात्र परिवर्तन गर्नु वा पोशाकको शैली बदल्नुले देशको वास्तविक सुरक्षामा केही फरक पार्दैन। पोशाकको रङ र शैली परिवर्तन गर्दैमा प्रहरीहरूको आचार व्यवहार परिवर्तन हुने होइन। बरु प्रहरीहरूलाई उच्चस्तरको तालिम दिउँ। उनीहरूको क्षमतामा विकास गरौं। ज्यान जोखिममा राखेर देश र जनताको लागि लड्ने प्रहरीहरूको लागि र उनका परिवारका लागि थप सुविधाको व्यवस्था गरौं। तर नेपाल प्रहरीको नयाँ पोशाकको रङ, डिजाइन, बटन, कफ माथि बहस गरेर समय खेर नफालौ। रङ र डिजाइनले प्रहरीलाई सुपर हीरो बनाउँदैन।
आफ्नो जीवनमाथि आइपर्ने खतरालाई बेवास्ता गर्दै खटिने प्रहरीको साहस, उनको काम र जनताको सुरक्षा सुनिश्चित गर्न कुनै कमी नआउने गरी क्षमतामा वृद्धि गरौं। देशको सिमानामा खटेर डटेर आफ्नो भूभाग फिर्ता ल्याउन सक्ने लडाकु तयार गरौं।अरु देशका प्रहरी र हाम्रो देशका प्रहरी बिच तुलना गर्नु छ भने, पोशाकसँग होइन, क्षमता, तालिम र व्यवहारमा जोड दिनुपर्छ।
हाम्रा प्रहरीलाई उच्चस्तरीय तालिमको व्यवस्था गर्नुपर्छ। जसले गर्दा अपराध नियन्त्रण र फाइटिङ्गमा सक्षम मात्र होइन नेपाल सानो भए पनि गौरव कायम राख्ने क्षमता, डरलाग्दो अपराधी समाउने साहस, देशको सिमानाको सुरक्षा गर्ने दृढ संकल्प र आम जनताप्रति मित्रवत व्यवहार कायम गर्ने प्रशिक्षण आवश्यक छ। हाम्रा प्रहरीले देखाउनुपर्छ कि उनी हाम्रा साथी हुन्, न कि डराउने शक्ति।
सामाजिक सञ्जालमा केहीले हास्यमा लेखेको पाएँ “हाम्रा प्रहरी सुपरहीरो देखिनुपर्छ।” हास्यपूर्ण भए पनि यो कथनले गहिरो सन्देश दिन्छ। सुपरहीरो पोशाकले होइन, प्रशासनिक जिम्मेवारीले बनाउँछ। डिजाइनले देखिने भव्यता मात्र हो, वास्तविक सुरक्षा र विश्वास होइन। प्रहरीलाई गौरवान्वित बनाउन पोशाक पर्याप्त छैन, उनीहरूले न्याय र सुरक्षा सुनिश्चित गर्दा मात्र गौरवान्वित हुन्छन्।
देशको सुधार पोशाकको रंगबाट होइन, न्याय, प्रशासनिक दृढता, र भ्रष्टाचारी नियन्त्रणबाट आउँछ। आज सडकमा झरेर भिजेको पात जस्तो, हाम्रो न्याय र सुरक्षा कहिलेकाहीँ कमजोर देखिन्छ। तर आशा टुटेको छैन।
पोशाक परिवर्तन केवल बाह्य सजावट हो। देशको न्याय, सुरक्षा, र भ्रष्टाचार नियन्त्रणको अवस्था वास्तविक पहिचान हो। हामीलाई चाहिएको छ भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने साहस, अपराध नियन्त्रण गर्ने दृढता ।
नेपालका प्रहरीको पोशाक अमेरिकाको शैलीमा सजाउँदा सुन्दर देखिन सक्छ। तर वास्तविक सुन्दरता तब हुनेछ जब यो पोशाकले देशका नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्छ। पोशाक परिवर्तनले देश परिवर्तन हुँदैन। जब भ्रष्टाचारी थुनिन्छन्, अपराध नियन्त्रण हुन्छ, पीडितले न्याय पाउँछन्, तब मात्र हामीले साँच्चै सुधार देख्छौं।
आजको पात झरे जस्तो, हाम्रो देशको न्याय र सुरक्षा पनि कहिलेकाहीँ भुइँमा लुत्रुक्क भिजेको जस्तो लाग्छ। तर हाम्रो आँखामा आशाको किरण अझै जीवितै छ। जब सही प्राथमिकता र निर्णयले हाम्रा प्रहरी र देशलाई वास्तविक शक्ति, साहस र गौरव दिन्छन्, तब मात्र कर्म, क्षमता र मित्रवत व्यवहारले हाम्रो राष्ट्र चम्किन्छ।
नेपालका प्रहरीले नयाँ पोशाक मात्र होइन उच्चस्तरीय तालिम, न्याय र मित्रवत व्यवहारले आम जनताको विश्वास जित्नुपर्छ। यसरी मात्र हाम्रा प्रहरीले देशको गौरव र सुरक्षा कायम राख्न सक्छन्। पोशाक परिवर्तनले शोभायमान देखिएला, तर कर्म र क्षमताले मात्र राष्ट्रिय गौरव जोगाउँछन्।