पूर्वाञ्चल खबर
आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार, बैठकले उक्त विधेयकलाई प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरेको छ। यस्तै, बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाटै परिमार्जित ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली, २०८२’ लाई समेत स्वीकृत गरेको छ।
आयोजना बैंक र छनोट कार्यविधि स्वीकृत
बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ‘आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ। यस कार्यविधिबाट प्रदेशका योजनाहरूको छनोट र व्यवस्थापनमा थप सहजता, पारदर्शिता र प्रभावकारिता आउने अपेक्षा गरिएको प्रवक्ता पराजुलीले बताए।
राज्यमन्त्री चेम्जोङ हङकङ जाने
यसैगरी, मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमणलाई स्वीकृति दिएको छ।
हङकङमा रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् र नेपाली महिला संघको संयुक्त आयोजनामा आगामी २९ मार्च २०२६ मा हुने ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
उक्त भ्रमणको सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक स्वयंले व्यहोर्ने गरी सरकारले भ्रमणको स्वीकृति दिएको प्रवक्ता पराजुलीले जानकारी दिए।