पूर्वाञ्चल खबर
विराटनगर / बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी व्यापारीले चर्को मूल्यमा बिक्री गरिरहेको र गोदाममा मौज्दात (स्टक) राखेर उपभोक्तालाई दुःख दिएको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमन सुरु गरेको छ।
आज साँझ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा खटिएको टोलीले विराटनगरका विभिन्न ग्यास डिलर र पसलहरूको अनुगमन गरेको हो।अनुगमनका क्रममा टोलीले डिलरहरूलाई ग्यास लुकाएर नराख्न र उपभोक्ताहरूको स्पष्ट अभिलेख राखेर मात्र पारदर्शी रूपमा बिक्री वितरण गर्न कडा निर्देशन दिएको छ।
सहायक प्रजिअ कोइरालाले उद्योगले तोकेको निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा वा बिक्री नगरी ग्यास लुकाएको भेटिएमा ‘कालोबजारी ऐन’ अन्तर्गत कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
‘अहिले उद्योगहरूबाट ग्यास आपूर्ति भइरहेको छ। हामीले उद्योगहरूले डिलरलाई पठाएको ग्यासको विवरण र डिलरको मौज्दात अवस्थाको सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘यदि कसैले कृत्रिम अभाव देखाएर कालोबजारी गरेको पुष्टि भए तत्काल कारबाहीको प्रक्रिया अघि बढाइनेछ।’
अनुगमन टोलीले ग्यासको नियमित आपूर्तिमा समस्या नरहेको दाबी गर्दै उपभोक्ताहरूलाई पनि आत्तिएर अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ। यता नेपाल आयल निगमले पनि ग्यासको मौज्दात पर्याप्त रहेको भन्दै अनावश्यक रूपमा सिलिन्डर थुपारेर कृत्रिम अभाव सिर्जना गर्न सहयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
प्रशासनले बजारमा हुनसक्ने अनियमितता रोक्न आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।