खबर पूर्वाञ्चल
निर्वाचन आयोगका अनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा एकैसाथ मतदान हुने छ । त्यसका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा अन्य समूहअन्तर्गतको १ पदमा भने निर्वाचन हुनुपर्ने अवस्था आएन । नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार खस आर्यमा सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी १७ पदका लागि मतदात हुने छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ । यी मतदाताले गोप्य मतदान प्रणालीमार्फत राष्ट्रियसभा सदस्य चयन गर्नेछन् ।
निर्वाचन आयोगले मतदान प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सुरक्षित बनाउन सबै प्रदेशमा आवश्यक सुरक्षा र व्यवस्थापनका काम पूरा भएको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन छ । ठूला दुई दलीय गठबन्धनसँग नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुले सातै प्रदेशमा प्रतिस्पर्धा गर्दैछन् । मतभार अनुसार सातै प्रदेशमा कांग्रेस एमाले गठबन्धनका उम्मेदवारहरु सुविधाजनक अवस्थामा छन् ।