पूर्वाञ्चल खबर
कार्यालयको गुठी शाखामा रहेको ढड्डा (स्रेस्ता) व्यवस्थित नहुँदा सेवाग्राहीले यसअघि नै तिरिसकेको राजस्व पुनः तिर्नुपर्ने बाध्यता देखिएको छ ।
विराटनगर–४ का इन्द्रबहादुर श्रेष्ठ मंगलबार आफ्नो ४ कट्ठा जग्गा (कित्ता नम्बर ४१४६) को राजस्व तिर्न मालपोत कार्यालय पुगेका थिए । यसअघि उनका बुबा मानबहादुरले नियमित राजस्व तिर्दै आएका थिए । इन्द्रबहादुरले आर्थिक वर्ष २०७९/८० देखि २०८२ र ८३ सम्मको ३ हजार ७ सय ८१ रुपैयाँ राजस्व बुझाए । तर, घर पुगेर बुबालाई रसिद देखाएपछि उनी छाँगाबाट खसेझैँ भए ।
उनका बुबाले त २०८०/८१ सम्मको राजस्व पहिल्यै तिरिसकेका रहेछन् । मालपोत कार्यालयको ढड्डामा अद्यावधिक नभएकै कारण उनले २ हजार ७ सय ७० रुपैयाँ अतिरिक्त रकम बुझाउनुपरेको खुल्यो । “बुबाले तिरिसकेको भन्नुभयो, पुरानो रसिद खोज्दा फेला पर्यो,“ श्रेष्ठले आक्रोश पोखे, “सरकारी कर्मचारीको लापर्वाहीले गर्दा मैले दुई पटक पैसा तिर्नुपर्यो । यदि मसँग पुरानो रसिद नभएको भए मेरो पैसा त सित्तैमा जाने रहेछ ।’’
बुधबार पुरानो रसिद बोकेर पुनः कार्यालय पुगेका श्रेष्ठलाई कर्मचारीले गल्ती स्वीकार गर्दै बढी लिएको २ हजार ७ सय ७० रुपैयाँ फिर्ता त गरिदिए । तर उनले दुई दिनसम्म पाएको हैरानीको मूल्य भने कसैले चुकाएनन् । “हामीले अनहकमा दुःख पाइयो,’’ उनले भने, “खाता व्यवस्थित नहुँदा सेवाग्राहीले कति सास्ती खेप्नुपर्छ भन्ने यो एउटा उदाहरण मात्र हो ।’’
मालपोत कार्यालय विराटनगरको गुठी फाँटका नायब सुब्बा राजेश कटटेलले भने सबै प्रणाली ‘मनुअल’ (हातले लेख्ने) भएकाले समस्या भएको दाबी गर्छन् । “हामीले जग्गाधनीको खाता र ढड्डा हेरेरै काम गर्ने हो,’ उनले भने, “उहाँलाई अलि हतार थियो, हिजो रेकर्ड हेर्दा नतिरेको जस्तो देखियो । मनुअल सिस्टममा कहिलेकाहीँ यस्तो प्राविधिक त्रुटी भइहाल्छ ।’’ कर्मचारीले हतारको बाहाना बनाए पनि ढड्डामा राजस्व अद्यावधिक नगर्नु कार्यालयको ठूलो कमजोरी भएको सेवाग्रही बताउँछन् ।
कार्यालयका प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलले आफू आएको चार महिनामा यस्तो ‘केश’ पहिलो पटक आएको दाबी गरे । “यसअघि यस्तो समस्या आएको थिएन, अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विकल्पमा मेरो ध्यान जानेछ,’’ पोखरेलले भने । उनका अनुसार गुठी कार्यालय नभएका ठाउँमा ऐनले नै मालपोतलाई यो जिम्मा दिएकाले उठेको राजस्व गुठी संस्थानकै नाममा जम्मा हुने गर्छ ।
विराटनगर मालपोत कार्यालयमा विराटनगर महानगरपालिकासहित बुढीगंगा, जहदा र कटहरी गाउँपालिकाका हजारौँ सेवाग्राही आउने गर्छन् । तर, गुठी शाखाको अभिलेख कम्प्युटराइज्ड नहुँदा श्रेष्ठजस्तै धेरै सेवाग्राही ठगिने जोखिममा छन् । रसिद सुरक्षित नहुने कतिपय सेवाग्राहीले त वर्षौँदेखि दोहोरो राजस्व तिरिरहेको हुनसक्ने आशंका गरिएको छ ।
कर्मचारीको लापर्वाही र ढड्डा प्रणालीको भद्रगोलले सरकारी सेवामाथि नै प्रश्न उठाएको छ । सेवाग्राहीले सरकारी खाता व्यवस्थित गर्न र अनलाइन प्रणाली लागू गर्न माग गरेका छन् ।