पूर्वाञ्चल खबर
विराटनगरमा आयोजित उक्त बृहत सांस्कृतिक कार्यक्रममा जिल्लाभरका उत्कृष्ट विद्यालयहरूलाई पछि पार्दै जुनियर र सिनियर विधामा यी दुई विद्यालयले सर्वोत्कृष्ट स्थान हासिल गरेका हुन् ।
प्रतियोगिताको जुनियर तर्फ कक्षा १ देखि ८ सम्म मोरङ पथरीको एभरेष्ट सेकेण्डरी स्कुल प्रथम हुन सफल भएको छ भने सिनियर तर्फ कक्षा ९ देखि १२ सम्म मोरङ मेरीगोल्ड स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको जुनियर तर्फको विधामा बेलबारीको आदर्श सेकेण्डरी स्कुलले द्वितीय स्थान र हरैचा मोडल स्कुलले तृतीय स्थान हासिल गरेका छन् । यसैगरी, डाँगीहाटको लिटल बुद्ध स्कुल र विराटनगरको कान्तिपुर स्कुलले सान्त्वना स्थानमा चित्त बुझाए ।
उता सिनियर तर्फको प्रतिस्पर्धामा पथरीको एभरेष्ट सेकेण्डरी स्कुल द्वितीय र पथरीकै रेडस्टार स्कुल तृतीय भएका छन् । सिनियर तर्फ विराटनगरको मोडर्न एरा र सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल सान्त्वना घोषित भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारसहित आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पालिकाबाट छानिएर आएका ५३ विद्यालयको सहभागिता
प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाहरूमा आयोजित छनौट चरण पार गरेर आएका विद्यालयहरूको मात्र सहभागिता रहेको थियो । फाइनल प्रतिस्पर्धामा जुनियरतर्फ ३२ र सिनियरतर्फ २१ गरी कुल ५३ वटा निजी विद्यालयका विद्यार्थीहरूले आफ्नो मौलिक कला प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृति झल्कने लोक नृत्यहरू प्रस्तुत गर्दा उपस्थित दर्शक र निर्णायकहरू मन्त्रमुग्ध बनेका थिए ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले प्याब्सनले शैक्षिक गुणस्तरका साथसाथै विद्यार्थीहरूको चौतर्फी विकास र सांस्कृतिक संरक्षणमा पनि उत्तिकै ध्यान दिएको बताए । “पछिल्लो समय पाश्चात्य संस्कृतिको प्रभाव बढिरहेको सन्दर्भमा हाम्रा बालबालिकाहरूलाई आफ्नो मौलिक लोक संस्कृति, भेषभूषा र रहनसहनबारे जानकारी गराउनु अपरिहार्य छ । यही उद्देश्यले प्याब्सन मोरङले हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको हो । यसले विद्यार्थीमा आफ्नो माटो र संस्कृतिप्रतिको प्रेम जगाउँछ,’’ अध्यक्ष बस्नेतले भने , ‘यस्ता कार्यक्रमले लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गराउन मञ्च प्रदान गरेको धारणा राख्नुभयो ।’’
कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका राष्ट्रिय सल्लाहकार टिकाराम पुरीले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालय स्तरबाटै संस्कृतिको जगेर्ना हुनुपर्नेमा जोड दिए । आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पुरीले भने, “किताबी ज्ञानले मात्र विद्यार्थीको विकास पूर्ण हुँदैन । लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्छन् । भोलिको कर्णधार मानिने विद्यार्थीहरूले आजैबाट आफ्नो संस्कृति बुझ्न र नाच्न सके भने मात्र हाम्रो पहिचान जोगिन्छ ।” उनले प्याब्सन मोरङको यो सक्रियता देशकै लागि उदाहरणीय रहेको बताउँदै प्रदेश र राष्ट्रिय स्तरमा पनि यहाँका विद्यार्थीले मोरङको नाम राख्ने विश्वास व्यक्त गरे ।
जिल्ला स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरू अब प्याब्सन कोशी प्रदेशले आयोजना गर्ने ‘प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता’ मा सहभागी हुन पाउनेछन् । जिल्लाको कडा प्रतिस्पर्धा पार गरेका टोलीहरूले प्रदेशमा पनि उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय तहदेखि प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरू, विभिन्न विद्यालयका संस्थापक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।