खबर पूर्वाञ्चल
स्वास्थ्य विमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।
सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । विराटनगर महानगरपालिकामा यस अघि कोशी अञ्चल अस्पताल, रानी अस्पतालमा मात्रै स्वास्थ्य विमाको प्रथम सेवा बिन्दु रहेको थियो ।
बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य विमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।
बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्रसहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको सङ्ख्या ३७६ पुगेको छ । यसले विमितलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए।
आफ्नै वडाबाट विमा सञ्चालनमा आउदा छिमेकी पालिकामा रेफर लिन जानुपर्ने समस्या हट्ने स्थानीय भोजराज जमरकट्टेलले बताए । उनले विराटनगर महानगरपालिकाका मेयर उपमेयर वडाअध्यक्ष बैजनाथपुर अस्पतालका कार्यालय प्रमुखलगायत सबैलाई धन्यवाद व्यक्त गरे ।