खबर पूर्वाञ्चल
जहदा गाउँपालिका–४ हटिया टोलबाट विहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार भुस राख्ने घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको छ । पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको चुँडालको भनाइ छ ।
बरामद भएको हतियार लुकाएर राखेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।
हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । हतियार किन र कहिले ल्याएका हुन् भन्ने यकिन छैन ।
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।
हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले बतायो ।
‘मोटरसाइकल चोरीमा संलग्न रहेको पाइएपछि यसअघि चोरी मुद्दा चलाइएको थियो । सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेका हुन् । त्यसपछि हतियार कारोबारमा संलग्न भएको पाइयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो ।