खबर पूर्वाञ्चल
देशभरबाट नियमित तर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागि थिए । यस वर्ष नतिजा सुधारिएर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । बाँकी एनजी अर्थात ग्रेड बिहीन बन्न पुगे ।
यस्तै विराटनगर महानगरपालिका भित्रका २५ सामुदायिक (सार्वजनिक) र ७२ संस्थागत (नीजि) विद्यालय गरि ९७ विद्यालयका ४ हजार ५ सय २९ जनाले एसईई परिक्षा दिएका थिए । ति मध्ये ३ हजार ६ सय ९० अर्थात ८१ दशमलव ४७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे भने बाँकीले एनजी ल्याए ।
देशभरको कुल रिजल्ट सँग महानगरको नतिजा तुलना गर्दा २० प्रतिशत भन्दा बढीले राम्रो स्थिति देखिन्छ ।
यद्यपी समग्रतामा हिसाब गर्दा ९७ विद्यालय मध्ये २ विद्यालयको नतिजा शुन्य रह्यो । जहाँबाट एक जना विद्यार्थीले पनि ग्रेड प्राप्त गर्न सकेनन् । ति विद्यालय प्रतिनिधि मुलक दृष्टिले एक संस्थागत र अर्को सामुदायिक हुन् । यसैगरि २८ वटा विद्यालयले भने शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भए । प्रतिनिधि मुलक रुपमा एक सामुदायिक र २७ वटा संस्थागत विद्यालय छन् । यो तथ्याङ्कलाई हेर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अझै मेहनत गर्नुपर्ने विज्ञहरुको भनाई छ ।
सेवा निवृत्त शिक्षा प्रशासक अशोक कालाखेतीका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयको अवस्था, त्यहाँको मानव संशाधन, व्यवस्थापकीय अवस्था ख्याल गर्न आवश्यक रहेको बताए। जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख जीवन गड्तौलाले हरेक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तह देखिनै ध्यान दिन जरुरी रहेको बताए। विद्यार्थीको प्राप्ताङ्क भनेको एउटा ‘इन्डिकेटर’ मात्र हो भन्दै उहाँले विद्यार्थीलाई व्यवहारत जीवनसँग जोडेर अघि बढ्न सिकाउनुपर्ने आवश्यकता औल्याए।
अभिभावक संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी अध्यक्ष देवी पन्थी विद्यालयहरुले समग्र विद्यार्थीको समान शिक्षाको प्रबन्ध गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘केही विद्यार्थीले ४ जीपीए ल्याए तर केहि विद्यार्थी भने अनुत्तीर्ण हुनुपर्ने अवस्थालाई राम्रो मान्न सकिदैन ।’ सरोकारवाला पक्षले ४ जीपीए ल्याउने विद्यार्थीलाई प्रोत्साहनका लागि सम्मान गर्नु अत्यन्त राम्रो भएपनि त्यसकै आधारमा विद्यालयलाई सम्मान गर्न आवश्यक नरहेको बताएका छन् । सेवा निवृत्त शिक्षा प्रशासक कालाखेतीले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्ने वा अझ भनौं सबैभन्दा राम्रो ग्रेडमा धेरै विद्यार्थी उत्तिर्ण गराउने विद्यालयको चयन गरी उत्कृष्टताको मापन गरिनुपर्ने बताए । ताकि हरेक विद्यालयले समग्र विद्यार्थीको शैक्षिक उन्नयनमा ध्यान दिन सकुन् ।
यस विषयमा विराटनगर महानगरपालिकाका शैक्षिक महाशाखा अधिकृत कृष्ण भट्टराईले भने समग्र मूल्याङ्कनकै आधारमा विद्यालयको उत्कृष्टता तय गरिने बताए। ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान भने उपल्लो नतिजा ल्याएकाले प्रोत्साहन स्वरुप गरिएको बताए।
हेरौं बढी विद्यार्थी भएका संस्थागत र सामुदायीक चार चार विद्यालयको नतिजा

विकेभीएमबाट एक जना विद्यार्थीले एनजी ल्याएकाले उत्तिर्ण प्रतिशतमा कमी हुन पुगेको छ भने सगरमाथाका ६ विद्यार्थी एनजी आएकाले उत्तिर्ण प्रतिशत ९४. ५० प्रतिशतमा झरेको छ । यस्तै ८८ विद्यार्थीले परीक्षा दिएको बुढानिलकण्ठको एक विद्यार्थीले एनजी ल्याउँदा ९८ दशमलव ८६ प्रतिशतले मात्र उत्तिर्ण गरेका छन् ।
यसैगरि सामुदायिक तर्फका बढी विद्यार्थी हुने चार विद्यालय मध्ये पोखरीया माविका ४१७ विद्यार्थी मध्ये ४१२ जनाले ग्रेड प्राप्त गर्दा ५ जना ग्रेड बिहीन बनेका छन् । पोखरीयाका ९८.८० प्रतिशत विद्यार्थीले उत्तिर्ण गरेका छन् । यो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयहरुमा पोखरीया मावि अब्बल देखिन्छ । आदर्श स्कुलका ९०.८८ प्रतिशत विद्यार्थीले उत्तिर्ण गरेका छन् । जहाँ ३२९ विद्यार्थीले परिक्षा दिएकोमा २९९ विद्यार्थीले ग्रेड ल्याउँदा ३० जना विद्यार्थी ग्रेड बिहीन बन्न पुगेका छन् ।
सत्यनारायणका २९७ मध्ये २३८ विद्यार्थी उत्तिर्ण हुँदा ५९ जना विद्यार्थीले एनजी ल्याए । यस्तै गोग्राहा मावि बाट १४७ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए भने ७० जनाले ग्रेड ल्याउँदा ७७ जनाले एनजी प्राप्त गरे । गोग्राहाले मात्र ४७.६२ प्रतिशत नतिजा निकालेको छ ।