पूर्वाञ्चल खबर
भोजपुर नगरपालिका–२ हेलौंछाका ३० वर्षीय राजेन्द्र राईले सासू, ससुरा, पत्नी र सालोको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार, उनले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, पत्नी मनिषा गिरी र सालो सपन गिरीको बीभत्स ढंगले हत्या गरेका हुन्।
शनिबार राति ११ बजेतिर हत्या गरेपछि राजेन्द्रले राति १ बजे प्रहरी कन्ट्रोलमा फोन गरेर हत्या स्वीकार गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुग्दा चारै जनाको शव फेला पारेको थियो। आरोपीलाई करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा पक्राउ गरिएको छ। उनको पेटमा चोट लागेको र उपचारका लागि धरान पठाइएको छ।
राजेन्द्रले प्रारम्भिक बयानमा सासूले आफूलाई छुरा हानेपछि बच्नका लागि छुरा खोसेर प्रहार गरेको दाबी गरेका छन्। उनी ६ दिनअघि मात्र ससुराली गएका थिए। पारिवारिक मनमुटावकै कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।