खबर पूर्वाञ्चल
आज मोरङ प्रहरीले पाएको पत्रमार्फत जिल्ला प्रशासन कार्यालयले मन्टुलाई अविलम्ब कार्यालयमा उपस्थित गराउन आदेश दिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता विनोदकुमार पोखरेलका अनुसार मन्टुलाई छलफलका लागि अघिल्लो हप्ता पनि बोलाइएको थियो। तर, उनी “बेहोस भएको” बहाना बनाएर छलफलबाट फुत्किए। त्यसपछि उनले मोबाइल फोन पनि बन्द गरेर आफूलाई सम्पर्कविहीन बनाएका छन्।
‘विपक्षी मन्टुलाई पटक–पटक बोलाउँदा पनि छलफलमा नआई मोबाइल अफ गरेर बसेकाले प्रक्रियामा बाधा पुगेको छ। त्यसैले उनलाई तुरुन्त उपस्थित गराउन पत्रचार गरिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
मन्टुविरुद्ध हालसम्म २० जना पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उनीहरूमा गुल्जार मियाँ, दिलिपक मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्य, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्रकुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपककुमार रायलगायत रहेका छन्।
पीडितहरूका अनुसार, जेलमुक्त भएपछि मन्टुले फेरि झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने, हुलाकमार्फत पैसा माग्ने र मानसिक त्रास फैलाउने काम थालेका छन्।
२०७७ सालमा ठगी र आपराधिक लाभको मुद्दामा मन्टुविरुद्ध मोरङ प्रहरीमा १७ जनाले उजुरी दिएपछि उनी पक्राउ परेका थिए। त्यसपछि २०७७ माघ २० मा मोरङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी मोरङ कारागार चलान भएका थिए।
जेलमा रहँदा पीडितसँग सहमति गर्दै मन्टुले आफ्नो पत्नी ज्योती रौनियारलाई प्रतिनिधि बनाइ १७ जनालाई जग्गा फिर्ता गरिदिएका थिए। यसकै आधारमा २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतले उनलाई ठगी र आपराधिक लाभको मुद्दाबाट सफाइ दिएको थियो।
तर, सफाइ पाएको दुई वर्षपछि उनले ती पीडितहरूमध्ये ११ जनालाई फिर्ता गरिसकेको जग्गाको पैसा अझै बाँकी रहेको भन्दै पत्र पठाएर धम्की दिन थालेका छन्। सुनवर्षी–४ का अमित यादव भन्छन्, ‘मन्टुको आतंक फेरि सुरु भएको छ, त्यसैले हामीले सामूहिक रूपमा जिल्ला प्रशासनमा उजुरी दिएका हौं।’
प्रशासनका अनुसार उजुरी र छलफलपछि थप कानुनी प्रक्रिया अघि बढाइनेछ।