खबर पूर्वाञ्चल
अवैध रुपमा ब्याजदर असुली गर्दै घरजग्गा कब्जा गर्ने कामतको शैलीका कारण अहिले कटहरी–३ का वडाध्यक्ष जदुलाल कामत आफैँ घरवारविहीन हुने अवस्थामा पुगेका छन्।
वडाध्यक्ष जदुलाल कामतले सार्वजनिक रूपमा कामतमाथि गम्भीर आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार लिखित उजुरी दर्ता गराएका छन्। उनले भनेका छन्, “घरजग्गा बेचेर बैंकको ऋण तिरेँ, तर अझै पनि भुक्तान गर्न बाँकी रहेको भन्दै कामतले शोषण जारी राखेका छन्।”
राजनीतिक पहुँचको आडमा चलिरहेको शोषण
२०७४ सालमा जदुलालले कटहरी–३ मा रहेको एक जग्गा ६८ लाखमा किन्ने सम्झौता गरे। तर तत्काल ४८ लाख मात्रै हातमा भएको कारण उनले विराटनगर–८ का बद्री चौधरीसँग २० लाख रुपैयाँ सापटी लिएर चौधरीकै नाममा जग्गा पास गरे। केही महिनामै चौधरीले रकम फिर्ता वा जग्गा बेच्न धम्की दिन थालेपछि जदुलालले तत्कालीन पालिका अध्यक्ष रामकुमार कामतसँग सहयोग मागे।
कामतले आफू सहयोग गर्ने सर्तमा जग्गा आफ्नी श्रीमती रुणादेवी कामतको नाममा पास गराए। त्यसपछि भने जग्गा फिर्ता गर्ने सट्टा उल्टै कब्जा सुरु भयो। जदुलालका अनुसार उनले ३५ लाख रुपैयाँभन्दा बढी रकम रामकुमारलाई बुझाइसकेका छन्, तर अझै २३ लाख नदिएसम्म जग्गा फिर्ता नहुने चेतावनी पाएका छन्।
मिटरब्याजको फन्दामा वडाध्यक्ष मात्र होइन, आम नागरिक पनि जदुलाल जस्तै पीडित अन्य सर्वसाधारण पनि छन्। कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशीको पीडा झनै गहिरो छ, जसको विषयमा यसअघि नै समाचार प्रकाशित भइसकेको छ। गाउँभरि मिटरब्याजको कारोबारमा कामतको नाम खुलेर आउँदै आएको छ।
वडाध्यक्ष जदुलाल कांग्रेसकै तर्फबाट दोस्रो कार्यकालका जनप्रतिनिधि हुन्। कामत पनि कांग्रेसकै गाउँपालिका सभापति। यही कारण उनले पार्टीभित्रै समाधान खोज्न प्रयास गरे। सांसददेखि मन्त्रीसम्म गुहार लगाए। तर, कामतको राजनीतिक पहुँचको अगाडि सबै मौन छन्।
“कांग्रेस नेता विनोद बस्नेतको घरमै बैठक बस्यौं, तर कामतले कसैको पनि कुरा मानेनन्,” वडाध्यक्ष जदुलालको भनाइ छ। अन्ततः उनले न्यायका लागि प्रशासनको ढोका ढकढक्याउन बाध्य भए।
कामतको इन्कार, तर उजुरी र प्रमाणले घेर्दै
उता, रामकुमार कामतले भने आफूले जदुलाल वा रामवतीसँग कुनै कारोबार नगरेको दाबी गर्दै आएका छन्। “मेरो इज्जत–प्रतिष्ठामाथि विनाकारण हमला गरिएको छ,” उनले भनेका छन्। तर, पीडितका भनाइ, कागजपत्र र उजुरीहरूले उनको भनाइलाई चुनौती दिइरहेका छन्।
मोरङमा मिटरब्याज सम्बन्धी उजुरीको संख्या दिनप्रतिदिन बढ्दो छ। जिल्ला प्रशासन कार्यालयमा हालसम्म ६७८ उजुरी दर्ता भएका छन्। तीमध्ये आठवटा उजुरीको फर्छ्योट भइसकेको छ, जसअनुसार १ करोड ८३ लाख रुपैयाँ रकम फिर्ता गराइएको छ भने १ बिघा १ कट्ठा १२ धुर जग्गा पीडितलाई फिर्ता दिइएको छ।