AArya
RUMPUM
animated ellipse animated ellipse

बिषादी सेवन गरेको पुरुषको मृत्युपछि विराटनगरको नोबेल अस्पतालमा तोडफोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०८२, शुक्रबार ११:३४
945
Shares
विराटनगर /विराटनगरको नोबेल शिक्षण अस्पतालमा हिजो राति एक बिरामीको मृत्युपछि आक्रोशित आफन्तहरूले तोडफोड गरेका छन्।

झार मार्ने विषादी सेवन गरेका मोरङको कटहरी गाउँपालिका-१ का ४५ वर्षीय प्रमोद महतोको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

महतोलाई पहिले हिजो साँझ ५:३० बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा रेफर गरिएको थियो। नोबेलमा उपचारकै क्रममा राति ११ बजेतिर उनको मृत्यु भएको हो।

मृतकको पत्नी अनितादेवी महतोले पतिले विष सेवन गर्नुको कारण आफूलाई थाहा नभएको बताएकी छिन्। उपचारमा संलग्न चिकित्सकले पनि विषादी सेवनका कारण महतोको मृत्यु भएको पुष्टि गरेका छन्।

महतोको मृत्युपछि करिब ४०/५० जनाको संख्यामा भेला भएका आफन्त र छिमेकीहरू आज विहान १:३० बजेतिर आक्रोशित बनेर तोडफोडमा उत्रिएका थिए। उनीहरूले चिकित्सकको लापरबाहीले महतोको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका थिए।

उत्तेजित भिडले ढुंगामुढा गर्दा अस्पतालको ओपीडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको र निर्माणाधीन नयाँ भवनको ५-६ वटा झ्यालका सिसा फुटेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

घटनामा वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक राजेश दत्त घाइते भएका छन्। दाहिने खुट्टाको घुँडामा चोट लागेका उनको नोबेलमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मदन केसी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरेर भिडलाई तितरबितर पारेपछि अवस्था सामान्य भएको छ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ र अन्य संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको एसपी चिमरियाले बताए। घटनाको अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर