खबर पूर्वाञ्चल
नेकपा एकीकृत समाजवादी मोरङको नवौँ जिल्ला अधिवेशनलाई आज विराटनगरमा उद्घाटन गर्दै नेपालले यस्तो बताएका हुन् ।
अँध्यारो युगमा फर्किन नसक्ने बताउँदै दल र नेताहरू त्रुटि कमजोरीलाई जोगाएर हैन, सुधारेर अघि बढ्नु पर्ने बताए । उनले एमाले–कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको उनको आरोप थियो । ‘२४० वर्ष शासन गरेको वंशवादी परम्पराबाट जनताले फेरि के खोजेको के हो?,’ नेपालले भने, ‘फेरि दास हुन खोजेको हो? पछाडि फर्किन खोजेको हो ?’
सयौं वर्ष राजा र राणाले देशलाई लुट्ने, चुस्नेबाहेक कुनै काम नगरेको आरोप लगाउँदै नेपालले भने’, फेरि जनता यस्तै लुटेरा, हत्याराको पछि किन लाग्नु प¥यो ।’
पुष्पकमल दाहाललाई धोका दिएर बनेको यो गठबन्धनलाई कुटिलको संज्ञा दिँदै गठबन्धनले संविधान संशोधनको नाटक मात्रै गरेको आरोप लगाए । ‘स्वार्थको मेल भएर एमाले–कांग्रेस जुटेका हुन्,’ उनले थपे,‘सरकार नियत ठीक छैन ।’
तीनकुनेमा राजावादीको उदण्डता र समाजवादी मोर्चाको सभाबाट जनताले वास्तविक थाहा पाएको जनाए । ‘हामीले शालीनतापूर्वक कार्यक्रम गर्दा तीनकुनेमा के भयो ? कति उदण्डता भयो । कति जनधनको क्षति भयो ? अब जनतालाई झुक्याउने चेष्टा नगरे हुन्छ,’ उनले भने ।
कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजावादीहरु मुलुकमा आतंक फैलाउने र आतंकित तुल्याएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा लागेको बताए । ‘उदण्ड, अराजक, र अपराधपुर्ण ढङ्गबाट मुलुकमा आतंक फैलाएर, आतकित पारेर समाजलाइ हायलकायल पारेर नियन्त्रणमा लिने षड्यन्त्रका साथ उनीहरू अघि बढेका छन,’ उनले भने, ‘यो आतंक र षड्यन्त्र किमार्थ सफल बन्नेछैन।’ महासचिव भूसालले राजावादीहरु भारतीय सत्ताको उक्साहटमा मुलुकमा आतंक फैलाउन लागेको आरोप पनि लगाएका छन् ।
‘भारतीय सत्तामा जो भए पनि उसको ध्येय नेपाललाई अस्थिर बनाइराख्ने हो त्यो अस्थिरताको आडमा फाइदा लिइरहने भन्ने हो,’ उनले भने, ‘भारतीयहरुले रोक भन्दाभन्दै बनेको यो संविधान उनीहरू हिडाइदिन चाहन्छन्। सविधानको अनुसूचीमा रहेको चुच्चे नक्सा स्थगित गर्दिन चाहन्छन्। यसका लागि राजावादीहरु प्रयोग भइरहेका छन। तिनको आड भरोसा भारतीय सत्ता हो ।’