खबर पूर्वाञ्चल
हाडनाता करणी मुद्दामा दोषी ठहर भएका मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा दिउँसो ३ः५० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको ढुंगेलले बताए । जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दाको फैसला २०७३ साल माघ ९ गते गरेको थियो ।
मुद्दाको फैसला गर्दै अदालतले उनलाई १४ वर्ष कैद सजाय सुनायो । राईलाई प्रहरीले २०७३ जेठ ६ गते पक्राउ गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो । उनलाई अदालतले जेठ २३ गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका राई अचानक बिरामी परेको जेलर ढुंगेलले बताए । उनका अनुसार राईले २०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने हुन्थ्यो । सजाय भुक्तानकै क्रममा उनको मृत्यु भएको हो ।
राईको शव कोशी अस्पतालमै छ । परिवारका सदस्यले भोली शव बुझ्ने जानकारी दिएको जेलर ढुंगेलको भनाइ छ ।
मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा हाल १ हजार १ सय १० जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । कारागारमा ५ जना आश्रित बालबालिका, १ सय २ जना महिला र १ हजार ३ जना पुरुष रहेको जानकारी ढुंगेलले दिए ।