AArya
animated ellipse animated ellipse

खार्पा चेलीवेटी पुराण स्मारिका पढेपछि ………………….

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०८१, बुधबार १२:०३
2.72k
Shares
दीपक निरौला (चेवनकुमार)
२०८० सालको करिब करिव अन्तिम र २०८१ को सुरुवाद अर्थात वसन्त ऋतुले आफ्नो यौवनकाल प्रदर्शित गर्दा गर्दै खार्पाको तल्लो काफ्लेमा रहेको शारदा मा.वि को प्राङ्गण खुशीले गद्गदाइ रहेको थियो ।

यसको मुख्य कारण भनेको यस पवित्र भूमिमा कयौं वर्षदेखि आफ्नो माइती थलो , शिक्षा थलो विर्सिएर टाढा रहेका चेलिबेटीहरु एकै भावना लिएर जम्मा हुनु । महापुराणको निहुँ गरेर गच्छे अनुसारको रकम परिवारबाट सुटुक्कै कटौती गरेर पैतृक थलोलाई हराभरा बनाउन कम्मर कसेर लागे । शारदा मा. वि. आमाको आगनीमा छमछमी नाँच्दा नौडाँडा पारीसम्मका बनपाखा पनि खुशीले गद्गद देखिन्थे । रातो पहिरनमा सजिएका खार्पाली चेलीबेटी यसरी जम्मा भएर निश्कलंक, निर्विवाद कार्यक्रम सम्पन्न गर्नु भनेको यो क्षेत्रकै गौरव र चुनौती हो ।

खार्पाली चेलीहरुले गच्छे अनुसार रकम उठाए । त्यहाँका स्थानीय लाई साथ लिए । खार्पा जन्मभूमी भएका दाजुभाईहरूलाई माहापुराणमा सहभागी हुन बाध्य गराए । ‘एउटा माइती दूर देश पारी, आँखको यो आशुँ सुकि जै जाला । ’ भन्ने गीतमा हरेक वर्ष को वैशाख ६ गते विद्यालय स्थापना दिवसको अवसर पारेर श्रद्धेय गुरु सिताराम पोखरेल सरको भाकामा धेरै चेलीबेटीहरुले स्वर मिसाएर धुलो उडाउँदै नाच्थे । महापुराणको अवसरमा श्रद्धेय गुरुको पनि उपस्थिति थियो । सप्ताहव्यापी कार्यक्रममा उहाँले यस पटक पनि खार्पाली चेलीहरूलाई पक्कै छमछमी नचाउनु नै भयो होला ।

सात समुन्द्र पारी आफ्नो पारिवारिक गुँडमा रमाउनु भएकी परिकल्पनाकार आरणिय दिदी गीता पोखरेल खनालको सक्रियतालाई कम आँक्न मिल्दैन । जहाँ स्त्रीहरुको सम्मान हुन्छ त्यहाँ देवता पनि प्रसन्न हुन्छन भन्ने मनु ऋषीको भनाई वास्तवमै सह्राहनिय छ ।

सदियौंदेखि साँधको चपेटामा परेर पिल्सिएका दलित समुदायलाई पनि मण्डपमा पूजा अनि भण्डारामा पाकेका स्वादिष्ट भोजन ‘वफे सिस्टम’ स्वेच्छाले छानीछानी पस्केर खान पाउने व्यवस्था साँच्चै नै उदाहरणीय कार्य थियो । संकुचित संस्कारमा हुर्किएका भएता पनि चौडा छाती पारेर समावेशिताको सिद्धान्त व्यवहारमा लागू गर्नु सानो कुरा हो र ? स्मारिकामा आफ्नो मनको भावना साट्ने शेरबहादुर वुवाको खुशीको सीमा नै थिएन । उहाँको जीवनमा नै नपाएको खुशी आउँदा खार्पाली चेलीहरुको युगान्तकारी परिवर्तनको सह्राहना नगरी को बस्न सक्ला र ?
स्मारिकामा खार्पाका दुःखका कथा सबैले मज्जाले लेख्नु भएको छ । पंक्तिकार पनि २०५१ सालमा खर्पामा आएको एसएलसी केन्द्रको पहिलो परीक्षार्थी व्याज हो । श्रद्धेय गुरु सिताराम पोखरेलले त्यो बेलाको कहानी लेख्दा विर्सिएको काँधको घाउ पुरानै गरी दुःखेको महशुस भयो । त्यो बेलामा कक्षा १० मा पढ्ने हामी सबै विद्यार्थीले थुम्की मुनीको भीरबाट काँचा सल्लाका लाथ्रा काँध खुइल्याउँदै बोकेर ल्याएको संझनाले पुर्नताजगी गरायो ।

खार्पा चेलिबेटीले यस पटक सुरुवाद गरेको कार्य सह्राहनिय मात्र भनेर पुग्दैन । उहाँहरुको योगदानको कदर गर्दै खार्पा मात्र नभएर सो क्षेत्रको विकासको लागि पर्यटन पूर्वाधारको विकासमा पुरुषहरु पनि जाग्नु पर्ने अवस्था आएको छ । नजिकै दुधकोशी हाईड्रो पावरको लागि १० किलोमिटर लामो रावाखोला तर्पm , ८ किमी सोलु तर्फ र ३ किमी ओखलढुंगा तर्फ जलासय बन्दै छ । हलेसी धाम नजिकै छ । लामाीडाँडा विमानस्थल नजिकै छ । हाम्रो क्षेत्रमा फल्ने सुन्तला, आँप,लिची कटहर लगायतलाई ब्राण्डिङ गर्नुपर्ने अभिभारा हाम्रो काँधमा आइपुगेको छ । रावावेशी गाउपालिका क्षेत्रलाई समेटेर हाइकिङ पदमार्ग निर्माण मा जुट्नु पर्छ । रावाखोलाका असला माछा त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउनु पर्छ ।

खार्पामा विदेशी पर्यटक भित्र्याउने पहिलो व्यक्ति भनेको श्रद्धेय गुरु भोलाहरी धिताल हुनुहुन्छ । २०४८ /०४९ सालतिर सेतो आँखा गोरो अनुहार र खैरो कपाल भएका धेरै अम्रिकाने युवा युवतीहरू भोलाहरी सरको घरमा नेपाली भाषा सिक्न भनेर बसेका थिए । अंग्रेजीका प्रखर ज्ञाता धितालको मा आएका अम्रिकाने ले ल्याएका शैक्षिक सामाग्री हामीले पनि हेर्ने र छुने मौका पाएका छौं । रावावेशी क्षेत्रका व्यक्तिहरुको पहुँच विश्व बजारमा छ । विवाह भएर गएका चेलिवेटी ले छोटो समयमा यत्रो काम फत्तेगर्ने हिम्मत राख्नु भयो भने हामीले पनि लगानी गरेर आयआर्जन को मेलो गर्न ढिला गर्नु हुँदैन । अब खार्पालाई दयाँको भिख होइन सक्षम र सवल बनाउन तर्फ लाग्नु पर्छ । यहाँबाट उत्तरतर्फ लहरै दाँतझैं मिलेका सेताम्य हिमालको दृष्यावलोकन ओछ्यानमै सुतेर सहजै गर्न सकिन्छ । यो क्षेत्रमा सुविधा सम्पन्न होमस्टेको आवश्यकता समेत रहेको छ । बनमारा र उत्तिसका पटेर घारी फाँडेर फलफूलका विरुवा रोपेर हुर्काउनु पर्छ । तिनले हरेक साल आयआर्जन गराउँछन् । यहाँको उत्पादन काठमाण्डौ तथा तराईका जिल्लामा सहजै पुग्छन् । फलफूल विक्रिको केही प्रतिशत आम्दानी देवालय,शिक्षालयलाई छुट्याउन मनको कुना फुकाउनु नै पर्दैन ।

अन्त्यमा ,यत्रो कार्य थालनी गरेर समापन गर्नु हुने खार्पाली चेलीहरु आदरणिय काकी विमला पोखरेल दाहाल, आदरणिय दिदीहरु शङ्कर कुमारी पोखरेल, गीता पोखरेल खनाल ,प्रमिला पोखरेल खनाल सानुमैया पोखरेल आचार्य, शान्ता पोखरेल ,अप्सरा पोखरेल, कमला पोखरेल, सावित्री पोखरेल, सुष्मा पोखरेललगायत सबैले मन, वचन र कर्मले स्मारिका प्रकाशनको जिम्मा लिएर पाठक सामू ऐतिहासिक काम गर्नु भएको छ । यि खार्पाली रत्नहरू समाजका अब्बल वर्गमा पर्नुहुन्छ । खार्पाको ऐतिहाँसिकताको बारेमा संसार भरका व्यक्तिलाई जानकारी गराउन अहोरात्र खटिएर पुस्तक प्रकाशन गर्ने सम्पादक मण्डललाई पनि साधुवाद । आगामी दिनमा यस्ता प्रकाशनको अपेक्षा असल पाठकले पक्कै पनि गर्ने नै छन् । कार्यक्रममा खर्पााली चेलीहरु आफैं खटेर डटेर सम्पन्न भयो । कमी कमजोरीहरूलाई स्मारिकामै भूलवश दुःखेका मनहरू भए आममाफीको याचनाले झनै गौरवान्वित बनाएको छ । यसबाट दुःखारू मनहरू समेत सर्माउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. भाइ दीपक!
    तिमीलाई पुराणमा देखिन तर तिम्रो प्रतिक्रिया आँखाले देखे जस्तै छर्लङ्ग आयो।खुसी लाग्यो।
    जे भयो त्यही आयो।
    धन्यवाद!

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर