ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बच्चा सिकिस्त भएपछि बुद्ध एयरको जहाजलाई विराटनगर फर्काइयो, नाबालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०८१, बुधबार १८:५२
1.64k
Shares
विराटनगर / यात्राका क्रममा नाबालक सिकिस्त भएपछि विराटनगर विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजलाई आज दिउँसो विराटनगर नै फर्काइएको छ ।

यूफोर ७१० कल साइन भएको जहाज उडिरहेका बेला नाबालक सिकिस्त भएपछि फर्काएर विराटनगर नै ल्याण्ड गराइएको हो । नाबालकको भने मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राई रहेका छन् ।

विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो १२ः२४ बजेतिर काठमाडौंका लागि उडेको जहाजलाई फर्काएर १२ः५९ बजेतिर विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको थियो । बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीका अनुसार नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि उडिरहेको जहाजलाई फर्काएर विराटनगर नै ल्याइएको हो ।

नाबालकलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । प्रहरीका अनुसार अस्पताल पुर्याउनसाथ दिउँसो १ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । पेट दुख्ने समस्या देखिएपछि नाबालकलाई उपचारका लागि अभिभावकले मंगलबार राति नै अस्पताल भर्ना गरेका थिए । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जहाजभित्रै सिकिस्त बनेका नाबालकको मृत्यु भएको हो । अस्पतालका बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीका एक्स–रे गरेर हेर्दा बच्चाको सानो आन्द्रामा अवरोध देखिएको थियो । शल्यक्रिया गर्नुपर्छ भनेर दिएको सल्लाह नमानिकन अभिभावकले लैजाने भनेर आग्रह गरेपछि अस्पतालले कागज गरेर नै बच्चालाई बिदा दिएको उनले बताए । अवस्था गम्भीर रहेकाले बच्चा तलमाथि हुनसक्छ भनेर सचेत गराउँदा पनि अभिभावकले आफ्नै ‘रिक्स’मा लिएर गएको डा. अधिकारीको भनाई छ ।

बुद्ध एयरले नाबालकलाई सामान्य अवस्थामै अस्पताल पठाइएको दाबी गरेको छ । तर, अस्पतालले भने जहाजभित्रै मृत्यु भइसकेको हुनसक्ने भनेको छ । ‘उपचारका लागि ल्याइपुर्याउँदा बच्चाको मृत्यु भइसकेको थियो,’ डा. अधिकारीले भने, ‘मृत्यु भएको करिब ४५ मिनेटजति भएको हुनुपर्छ ।’ विमानस्थलबाट अस्पताल करिब ३ किलोमिटर मात्रैै टाढा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर