खबर पूर्वाञ्चल
आज तेह्रथुममा कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले तीनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने बताए।
सबै कर्मचारी जिम्मेवार नागरिक भएकाले सोही अनुरूप नागरिक सेवामा लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए। यस्तै मुख्यमन्त्री कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई रोक्ने गरी काम गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
मुख्यमन्त्री कार्कीले भने, ुपहाडमा सडक र बाटो पुग्न थाले। तर मानिसहरू चाहिँ झोला तुम्बा बोकेर मधेश झर्न थाले। यो चिन्ताको विषय हो। यसलाई रोक्न सबै लाग्नुपर्यो।ु नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटन मार्फत रोजगारी सिर्जना गरेर पहाडको बसाईसराई रोक्ने काम गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री कार्कीले असारे विकास प्रवृत्तिलाई रोक्नका लागि आगामी साउनदेखि नै कार्ययोजना बनाएर १ करोड माथिका योजना पहिलो चौमासिकमै कार्यान्वयनमा लैजाने बताए। उनले त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर काम चाँडै थाल्ने समेत बताए ।
वित्तीय प्रगतिको हिसाबले कोशी प्रदेश उत्कृष्ट प्रदेश रहेको बताउँदै मुख्यमन्त्री कार्कीले आगामी वर्ष वित्तीय प्रगति बढाउने बताए ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मिरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराइन्। कार्यक्रममा तेह्रथुमका प्रदेश सभा सदस्य कमला दर्नाल र किशोर चन्द्र दुलाल लगायतले बोले।