RUMPUM
animated ellipse animated ellipse

आफन्त नै काल बनेपछि…….. एक वर्षमा भएको १ सय ४३ वटा कर्तव्य ज्यानको घटनामा ५५ परिवारिक हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०८०, बिहीबार ०७:३२
9
Shares
विराटनगर / पछिल्लो समयमा परिवार र आफन्तबाटै हुने हत्या अपराधका घटना बढेको छ । परिवारकै सदस्य काल बनेर अपराधका घटना गराएको एकपछि अर्को प्रकरण बाहिर आइरहेको समाचार आजको हाम्रोमत दैनिकले लेखेको छ ।

जीवनभरी साथ दिन्छु भनेर विवाह बन्धनका बाँधिएका र प्रेम सम्बन्धमा रहेकाहरूबाट जघन्य अपराध भइरहेको छ । सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनुपर्ने डरलाग्दो पारिवारिक अपराधको दर ह्वात्तै बढेको प्रहरीकै तथ्यांकले पनि देखाएको छ ।

भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने र आपसी अविश्वासले बढाएको असमझदारी हत्यामा परिणत हुने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या कोशी प्रदेशमा बढिरहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार पनि असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ ।

कोशी प्रदेशमा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ । मोरङको बेलबारीमा मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरे । बेलबारी–१ स्थित ६५ वर्षीय बमबहादुर लिम्बूले मंगलबार राति ४५ वर्षीया श्रीमति गीता लिम्बुको हत्या गरेर आफूले पनि आत्महत्याको बाटो रोजेका छन् ।

धारिलो हतियार दाउ प्रहार गरेर श्रीमतीको हत्या गरेर बमबहादुरले त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । घरयासी विवादको कारणले श्रीमानले श्रीमतिको हत्या गरेर आफुले पनि आत्महत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए ।

गत शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीय नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरे । चन्द्रिकाकुमारीको हत्यापछि उनले पनि आत्महत्या गरे । सिराहाको लाहान नगरपालिका–२१ मोतिपुर घर भएका २२ वर्षीय शिवशंकर दासले प्रेमिकाको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेका हुन् ।

प्रेममा धोका पाएपछि चन्द्रिकाकुमारीको हत्या गरेका शिवशंकरले आफैं पनि आत्महत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीका अनुसार चन्द्रिका र शिवशंकर चार वर्ष अगाडिदेखि प्रेममा थिए । उनीहरू नातामा सोल्टा–सोल्टिनी हुन् ।

गत वैशाखमा शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिका सिराहा घर भएका सिएमए अमित धानुकसँग प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफूलाई धोका दिएको जानकारी पाएपछि विक्षिप्त भएका शिवशंकरले मलेसियादेखि आएर उनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । मलेसियाबाट आएर तीन दिन उनीसँगै बसेको शिवशंकरले चन्द्रिकाकुमारीको हत्या गरेर दुई दिनसम्म भारत लुकेपछि विराटनगरमै फर्किएर आत्महत्या गरेका थिए ।

गत फागुन मोरङकै पथरीमा २० गते एक वालिकाको हत्या पनि उनकै प्रेमीले गरे । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीय सन्जना भनिने ज्ञानमती थुलुङ राईको हत्या मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीले गरे । उनीहरू पनि केही समय अगाडिदेखि प्रेममा थिए ।

हत्या आरोपी चौधरी विवाहित हुन् । उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान भई नजिकिएको प्रहरीले जनाएको छ । बालिका राई मामाको छोराको घरमा बस्दै आएकी थिइन् । बालिका हत्या आरोपमा पक्राउ परेका चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेका छन् ।

केही महिना अगाडि झापाको भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै ६० बर्षीया श्रीमति फिल्सिता उराउको हत्या आरोपमा पक्राउ परे । मदिराको नशामा लठिएका साहेबाले सामान्य झगडा हुँदा श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन हप्तामा मोरङमा तीन वटा घटनामा मोरङमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् । तीन वटै घट्नामा माया प्रेममा खटपटका कारणले जघन्य अपराधको रुपमा लिएको देखिन्छ ।

प्रदेशका १४ जिल्लामा गत आर्थिक वर्षमा ८ हजार ७२४ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ३ हजार ८१८ मुद्दा फच्र्छौट भएका छन् भने ४ हजार ९१६ वटा मुद्दा बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दर्ता भएकामध्ये आर्थिक वर्ष २०७९÷८० मा १४३ वटा कर्तब्य ज्यान मुद्दाको घटनामा परिवारिक हत्याका घटना ५५ वटा रहेको देखिएको छ ।
एक वर्षमा ५५ वटा हत्याको घटनामा ५६ जना मारिएको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुवेर खापुङले ८० प्रतिशत जघन्य अपराध नजिकको आफन्तबाट हुने गरेको पाइएको बताए ।

पारिवारिक किचलो, मायाप्रेममा धोका जस्ता कारणले पारिवारिक अपराध बढ््दा सबैलाई चिन्तित तुल्याएको प्रहरीको भनाइ छ । परिवारभित्रको हत्यालगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

लामो समयदेखि यस्ता अपराधको अध्ययन एवं अनुसन्धान गर्दै आएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एकअर्कामा विश्वास गुम्दा र आपसी बेमेल उत्पन्न हुँदा पारिवारिक अपराधका घटना हुने गरेको बताए । ‘विभिन्न क्षेत्रमा निराश भएपछि आमुक व्यक्तिलाई देख्ने गर्दछ । त्यसमा आफन्तलाई बाधकको रूपमा हेर्ने गर्दछन्,’ डिएसपी दाहालले भने, ‘आवेगमा आएर जघन्य प्रकृतिका घटना घटनाउने गरेका छन् ।’
प्राथमिकता दिनुपर्ने कुराभन्दा अरुतिरै मानिस बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एकअर्कालाई शंकाको नजरले हेरिँदा, एकले अर्काको भावना बुझ्न नसक्दा यस्ता घटना हुने गरेको उनको भनाइ छ ।

सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाइले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवार भित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ ।

‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोंच सबैमा हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर