खबर पूर्वाञ्चल
महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले आज दुईवटा दमकलबाट परीक्षण गरेको हो । जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताए ।
यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिए । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्व तयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताए । जसअन्तर्गत पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ भने अन्य स्थानमा पनि जडान गर्ने तयारी भइरहेको मेयर कोइरालाको भनाइ छ । “अन्य स्थानमा पनि डिप बोरिङ जडान गर्ने योजना छ,” मेयर कोइरालाले भने, “कसरी विराटनगरवासीलाई राहत पुग्छ भनेर हामीले काम गरिरहेका छौं । सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले तत्कालै नियन्त्रण गर्न सहज हुनेछ ।”
अब बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपमेयर शिल्पा निराला कार्कीले विश्वास व्यक्त गरिन् । उनले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताइन् । डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहेका महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया