खबर पूर्वाञ्चल
विराटनगर – ९ भानुटोलको भित्री सडकको नाला भित्रको लोदोसहितको फोहोर झिकेर सडक किनारमा राखेको एक साता भएको छ ।
नालाबाट झिकेको फोहोर एक हप्ता बितिसक्दा पनि अहिलेसम्म उठाएर नलादा सवारी दुर्घटनामा परेको खबर पूर्वाञ्चल डटकमका प्रवन्ध दिर्नेशक पुष्पराज थपलियाले बताए । ‘नालाबाट झिकेको लेदोसहितको फोहर सडक किनारमा छरपस्ट तरिकाले राखेको छ । दुर्गन्ध पनि उत्तिकै छ । सडक किनारमा हिड्ने मान्छेहरु नाक थुनेर हिडने गरेका छन् । लेदो सहितको फोहोर सडकमा फालेको कारणले अहिले सवारी साधन मोटरसाइकल र स्कुटमा हिडने दुर्घटनमा पर्न थालेका छन्,’ उनले भने, ‘नालाबाट झिकेको फोहोर लेदो एक हप्ता भइसक्यो । अहिलेसम्म उठाउने कुनै सुरसार गरेको छैन ।’ फोहोर उठाउने ठेकेदारले समयमै नउठाउँदा अहिले दर्गन्ध फैलिएको उनले बताए । महानगरपालिकाले पनि ठेकेदारलाई फोहोर उठाउन निर्देशन नदिएको लाचारी पन देखाएको उनको आरोप छ ।
१९ वडा रहेको विराटनगर महानगरपालिकामा तीन चरणमा हेर्ने गरी ठेक्का लगाएको छ । उत्तरी क्षेत्र विराटनगर १ देखि ५ र १९ नम्बर वडा भित्रको फोहोर उठाउने ठेक्का नेपाल फुलबारी संस्थाले लिएको छ । यसैगरी ६ देखि ११ नम्बर वडासम्मको ठेक्का शान्तिको लागि बातवरण नामका संस्थाले लिएको छ भने दक्षिण क्षेत्र ११ देखि १८ नम्बर वडासम्मको ठेक्का सगरमाथा मल्टीपल सभिर्स प्रालिले लिएको छ ।
फोहोर उठाए बापतको उनीहरुले महानगरपालिकाबाट मासिक शुल्क र ग्राहक बनाएर पनि शुल्क उठाउने गरेको छ । फुलबारीले मासिक ९० हजार, स्वास्थ्य र शान्तिको लागि बातवरणले १ रुपैयाँ र सगरमाथा मल्टीपल सभिर्सले मासिक तीन लाख रुपैयाँ विराटनगर महानगरपालिकाबाट लाने गरेको छ । यस बाहेक उनीहरुले मासिक घरदैलो गरेर ग्राहक बनाएर पनि शुल्क लिने गरेका छन् । यसरी मासिक शुल्क उठाएर लगे पनि समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण एक हप्तादेखि फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ ।
यता विराटनगर महानगरपालिकाको अनुगमन कर्ता किरण न्यौपानेले ठेकेदारलाई भनेर तत्काल उठाउन लगाइहाल्ने बताए । ‘मलाई पनि जानकारी आएको थिएन । कुन ठेकेदारको पर्ने रहेछ । हेरेर तत्काल उठाउन लगाइहाल्छु,’ उनले भने ।