AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदूषण फैलाउएको भन्दै विराटनगरका उद्योगी पारस लुनियाले सञ्चालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले दिए प्रशासनमा उजुरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०८०, बुधबार १८:०५
1.12k
Shares
विराटनगर / क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा विराटनगरका उद्योगी पारस लुनियाले सञ्चालन गरेको मोरङको बुढीगंगा गाउँपालिका ३ मा रहेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् ।

उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेती योग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन बाँझो भएको भन्दै स्थानीयले कारवाहीको माग राख्दै उजुरी दिएका हुन् ।

केमिकलयुक्त दुषित पानी खेतीयोग्य जमिनमा पसेर बाँझो हुनुको साथै दुर्गन्धले बस्न नसक्ने अवस्था सृजना भएको भन्दै स्थानीयले कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बुढीगंगा गाउँपालिकामा कार्तिक १२ गते उजुरी दिएका हुन् । उद्योगलाई पटक–पटक लिखित र मौखिक रुपमा केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनतिर नफाल्न आग्रह गर्दा पनि कुनै सुनवाइ नगरेपछि कारवाहीको लागि उजुरी दर्ता गराएको स्थानीय विमला शर्माले बताइन् ।

शर्माको बुढिगंगा ३ मा तीन बिघा जमिन रहेको छ । उनले जग्गामा सिजन अनुसारको बाली लगाउने गरेकी थिइन् । वर्षमा उनले तीन बाली भित्र्याउने गरेकी थिइन् । उद्योगको कारण केही वर्षयतादेखि उनको खेतीयोग्य जमिन बाजो छ ।

‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतीयोग्य जमिनामा पसेपछि बाली नष्ट हुने गरेको छ’ उनले भनिन्, ‘हामीले पटक–पटक भनिसक्यौं । छलफल पनि भयो । तर, उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन ।’ जुनसुकै बाली लगाएपनि उद्योगबाट निस्किएको केमिकल भएको पानी खेतीमा पसेपछि बाली सुकेर मर्ने गरेको उनको भनाइ छ ।

यस विषयमा बुढीगंगा गाउँपालिका र उद्योग संगठनमा पटक– पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतबारी तिर फाल्न छोडेको छैन । ‘हामीले उद्योगबाट निस्किने केमिकल भएको फोहर पानी व्यवस्थित गर्न पटक–पटक छलफलमा भनेका छौं । अहिलेसम्म कुनै सुनवाइ भएन,’ उनले भनिन्, ‘त्यही भएर धानबालि पनि लगाउन छोडियो ।’ उत्पादन नहुने भएपछि खेती लगाउनुको अर्थ नभएको उनको भनाइ छ ।

खेतमा लगाएको धान उद्योगबाट निस्किएको केमिकल मिसिएको पानीले मारिदिएको स्थानीयको भनाइ छ । जसको कारण बाली लगाउदा लागत मात्र खेर जाने गरेको उनीहरु बताउँछन् । उद्योगकै कारण आसपासको धेरै जमिन बाँझै रहेको स्थानीयले बताए ।

लुनियाले सञ्चालन गरेको उद्योग विराटनगर–इटहरी सडक खण्डमा जोडिएको बुढीगंगा ३ गोकुवा चोकमा रहेको छ । उद्योगबाट निस्कने केमिकल भएको पानी मात्र नभएर कालो धुलोले स्थानीयवासी र यात्रीलाई सास्ती हुने गरेको स्थानीय बताउँछन् । उद्योगबाट बुढीगंगा ३ का स्थानीय बासिन्दा बढी समस्यामा परेका छन् । धुवाँको कारण राजमार्ग भएर आवातजावत गर्ने सर्वसाधारण पनि हैरान छन् ।

धुवाँ र उद्योगबाट निस्किने केमिकल मिसिएको दुर्घन्दित पानीले बस्न नसक्ने अवस्था बनाएको छ । उद्योग सञ्चालकले भने स्थानीयको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उद्योगले केमिकल मिसिएको पानी र धुवाँ र धुलो व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । धुवाँले वरिपरिका स्थानीयलाई खान, बस्नै समस्या भएको छ ।

उद्योगबाट निस्कने धुवाँले आँखामा समस्या हुने गरेको छ । उद्योगको धुुवा र प्रदूषित पानीले जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको स्थानीको भनाई छ ।

उद्योग सञ्चालक लुनियाले भने उद्योगबाट प्रदूषित पानी खेतमा नगएको दाबी गर्दै आएका छन्। ‘उद्योगबाट निस्किएको पानी नालीमा जान्छ’ उनले भने, ‘खेतीयोग्य जमिनतिर पानी नजाओस् भनेर माटो पनि हालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर