स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताए । उनले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताए । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उनको भनाइ थियो । विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उहाँले जोड दिए ।
महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ ।
कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिइन् । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिइन् । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताए । उनले खोप लगाएका १० हजारमध्ये एकजना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिए । सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया