डेंगुको परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँ भन्दा बढी लिन नपाइने

खबर पूर्वाञ्चल, २२ श्रावण २०८०, सोमबार १९:२७
225
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ ।

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बसेको बैठकले डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको अलीले बताए ।

बैठकमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, ३ का अध्यक्ष वासुबहादुर बस्नेत, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, निजी अस्पतालहरुको संस्था अफिनका अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेसु चन्द्रकान्त झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रकाश कार्की, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, मोरङ सचिव स्वयम्भूनाथ कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, मेलानका केन्द्रीय उपाध्यक्ष प्रयाग पन्त, मेलानका प्रदेश सचिव जीतेन्द्र झा, मेलानका मोरङ अध्यक्ष दिनेश राउत, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थितिमा शुल्क निर्धारण गरेको हो ।

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँ लिएको भन्दै महानगरमा गुनासो आएको थियो । गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन् । डेंगुको महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन मेयर कोइरालाले आग्रह गर्नुभयो । “यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ,” मेयर कोइरालाले भन्नुभयो, “जनताको सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुनेगरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ । आज निर्धारण भएको शुल्क लक्ष्मणरेखा होइन, पछि फेरि बसेर संशोधन गर्न सकिन्छ ।”

महानगरले गरेको समन्वयकारी भूमिकाप्रति धन्यवाद दिँदै अफिनका अध्यक्ष डा. शंकर अधिकारीले बैठकको अक्षरशः निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्नुभयो । महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५