खबर पूर्वाञ्चल
श्रेष्ठको ७५ वर्षको उमेरमा काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो । श्रेष्ठ आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित विराटनगरका स्थायी बासिन्दा डेढ महिनादेखि उपचार्थ थिए । पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा आन्द्रामा क्यान्सर देखियो । शल्यक्रियाका क्रममा आन्द्रा काटेर फालिएको थियो, तर जोडिएको आन्द्राबाट ‘लिकेज’ भएपछि उनलाई चार सातादेखि भेन्टिलेटरमा राखिएको थियो ।
७५ वर्षीय श्रेष्ठले आफ्नो जीवनको ४५ वर्ष क्रिकेटमै समर्पित गरे । यो यात्रामा उनलाई क्रिकेटका प्रायः सबै पण्डितहरूले पूर्वाञ्चल क्रिकेटको ‘भीष्मपितामह’ उपनाम पनि दिए ।
श्रेष्ठको निधनले कोशी प्रदेशमात्र नभई मुलुकको क्रिकेटले कुशल अभिभावक समेत गुमाएको छ । उनले बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर युवालाई क्रिकेटमा आकर्षित गर्नमा आफ्नो जीवन समेत समर्पित गरेका छन् । उनका दुई छोरा युनिल र मञ्जित दुवैले राष्ट्रिय टोलीबाट खेले ।जेठा छोरा युनिल श्रेष्ठ नेपाली क्रिकेटको अन्डर–१९ तर्फ पहिलो क्याप्टेन बनेका थिए। त्यसैगरि, कान्छा छोरा मन्जित श्रेष्ठ हाल विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छन्। उनकी छोरी ऋचा श्रेष्ठको केही वर्षअघि क्यान्सरका कारण अष्टेलियामा निधन भएको थियो।
तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका अध्यक्ष, उपाध्यक्ष रहेका उनी नेपाल क्रिकेट संघ –क्यान) को सदस्यदेखि उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सल्लाहकार थिए । २०६३ सालमा क्यानबाट हटाइएका उनी गत वर्ष पुनः सदस्यको रूपमा प्रवेश गरेका थिए ।
क्रिकेटमा जीवन समर्पित गरेका श्रेष्ठ आईसीसीको लाइफटाइम एचिभेन्ट अवार्डबाट सम्मानित भएका थिए।छोरी ऋचाको स्मृतिमा आयोजना गरेको प्रथम ऋचा स्मृति क्रिकेट प्रतियोगिता नै उनको अन्तिम रह्यो । अस्ट्रेलियामा निधन भएकी छोरीको स्मृतिमा श्रेष्ठले चैतमा उक्त प्रतियोगिता गरेका थिए । प्रतियोगितामा तीन विभागीय टोलीसहित सुदूरपश्चिम प्रदेश, विराटनगर र भारतका विभिन्न तीन क्लबको सहभागिता थियो ।