खबर पूर्वाञ्चल
ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे चेकजाँच अभियान सुरू गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले आज शुभराम्भ गरे ।
सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आजदेखि चेकजाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।
चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे/नगरेको पत्ता लाग्ने उनले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे/नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख श्रेष्ठले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’
उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी श्रेष्ठले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।
चेकजाँचका लागि आवश्यक पर्ने किट मोरङ ट्राफिक प्रहरी कार्यालयलाई नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपलब्ध गराएको थियो । थप आवश्यक परेमा प्रदेश सरकार र कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने भएको छ ।
किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’