खबर पूर्वाञ्चल
हरेक बर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार यो बर्ष पत्रकार थापालाई दिईने निर्णय गरिएको हो ।
६६ औं राष्ट्रिय सहकारी दिवस: मूलसमारोह समितिको केहि दिन अगाडि बसेको बैठकले उक्त निर्णय गरेको दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।
चैत्र २० गते हुने कार्यक्रम स्थलमा नै पत्रकार सम्मेलन गरेर मूलसमारोह समितिका संयोजक पोखरेलले पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेका हुन । पत्रकारीता पुरस्कारको राशि ५ हजार १ सय रुपैया रहेको छ । पुरस्कार चैत्र २० गते सहकारी दिवसको दिन प्रदान गरिने पोखरेलले जानकारी दिए ।
चैत्र २० गते कोशी प्रदेश प्रमुख पुर्शराम खापुङको प्रमुख आतिथ्यतामा विराटचोकमा सहकारी दिवसको कार्यक्रम गरिने पनि उनले जानकारी दिए ।
मोरङलाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा कलम चलाउने मध्ये हरेक बर्ष एक जनालाई पुरस्कृत गरिदै आएको र यो भन्दा अगाडि पत्रकार नरेन्द्र दाहाल, महेन्द्र विष्ट, मिनकुमार नवोदित, सुशिला पाठक, नविन कर्ण, केदार चौहान र भुपेन्द्र तिम्ल्सिनाले पाईसकेको पोखरेलले बताए ।
पत्रकार थापासँगै यो बर्षको सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी ंसस्थाकी विन्दा श्रेष्ठ तामाङलाई दिईने निर्णय बैठकले गरेको संयोजक पोखरेलले जानकारी दिए ।
राष्ट्रिय सहकारी दिवसमा गरिने कार्यक्रमले सरकारलाई दवाव दिनेछ : महासंघ उपाध्यक्ष पोखरेल
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले यस बर्षको सहकारी दिवसको दिन गरिने कार्यक्रम सरकारलाई दवाव दिने र सहकारीप्रति हेर्ने नजर परिवर्तन गर्ने खालको हुने बताएका छन् ।
विराटचोकमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नरहेको बताए । सरकारले सहकारी सम्वन्धि निति नियममा भईरहेको कुरालाई पनि कार्यान्वयन नगरेको उनको भनाई छ ।
संघियता लागु भएपछि सहकारी क्षेत्रलाई हेर्ने नजर नै राम्रो नभएकाले तीनै तहको साझा हो सहकारी क्षेत्र भन्ने उदेश्यले दवाव मूलक कार्यक्रमको रुपमा मनाउने उनले बताए ।
‘सरकारको अविभारा सहकारीलाई प्रवद्र्धन गर्नु पनि हो’, उनले भने, ‘जुन निकायले कर लिन्छ त्यसलाई उसले प्रवद्र्धन पनि गर्नुपर्छ । अहिले कर्जा सूचना केन्द्र भईदिएको भए खराब ऋणिको प्रवेश सहकारीमा हुने थिएन ।’
‘तरलता समस्या सहकारीमा मात्र आएको हैन् । बैंक वित्तिय संस्थामा पनि सहकारीको भन्दा धेरै समस्या छ । कोभिड र रसिया युक्रेनको युद्धका कारण आर्थिक क्षेत्रमा देखिएको समस्याका कारण केही सहकारीमा पनि समस्या देखिएको सत्य हो । तर, बैंकहरुले एक बर्षदेखि लगानी गरेका छैनन् । सहकारीले त खाली राखेका छैनन्, अझै केही रकम लगानी गरिरहेका छन् । समस्या आयो भन्ने हल्लाहका कारण सबै पैसा फिर्ता लिन आउँदा दिन सकिदैन भन्ने कुरा बुझ्नुपर्छ र बाहिर समाचार सप्रेषण गर्दा पनि सोही अनुसार गर्नुपर्छ’, उनले भने । सञ्चारमाध्यमले पनि सहकारीमा मात्र समस्या आएको हैन् भनेर सर्वसाधारण बुझ्ने गरि समाचार संप्रेषण गर्नुपर्ने उपाध्यक्ष पोखरेलले बताए ।
चैत्र २० गतेको कार्यक्रममा सात हजार सहकारीकर्मीहरुको सहभागिता हुने सहकारी दिवस मूल समारोह समितिका सह संयोजक युवराज दाहालले दिवसको दिन सहकारीकर्मीहरु आ आफ्नो सहकारीको व्यानर र ड्रेस सहित उपस्थित हुने जानकारी दिए । २० गते हुने कार्यक्रममा सात हजार भन्दा बढी सहकारीकर्मी तथा सहकारी अभियान्ता र सहकारीसँग सम्वनधीत व्यक्तित्वहरुको सहभागिता हुने उनले बताए ।
टाढाबाट आउनेहरुको संख्या कम भएपनि सुन्दरहरैचा नगरपालिका भित्र ११७ वटा सहकारी संस्था रहेको र नजिकैका नगरपालिका तथा गाउँपालिकाबाट उलेख्य मात्रामा सहभागि हुने अपेक्षा आयोजक मूलसमारोह समितिले गरेको दाहालले बताए ।
सहकारीप्रति देखिएका नराकारत्मक धारणालाई चिर्नको लागि पनि कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।
दिवसको दिन झ्याँकी र्याली सहितको कार्यक्रम आयोजना हुने बताउँदै दाहालले सहभागिताको आधारमा मौलिक पहिचानको आधारमा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिने पनि जानकारी दिए ।
६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ सम्पन्न गर्नका लागि तयारी बैठक तथा पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैचा नगरपालिकाका प्रशासन तथा सहकारी शाखा प्रमुख विनोद न्यौपानेले सुन्दर हरैचा नगरपालिकाले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सहकारी सम्वन्धी हुने हरेक गतिविधिमा नगरपालिकाले साथ दिने पनि उनले बताए ।
त्यसैगरी इन्द्रपुर जेसीस २०२३ की अध्यक्ष जेसी विना आचार्यले सहकारी बैंकको समस्या एकै रहेको बताउँदै ऋण मिनाहा हुन्छ भनेर कोही पनि हल्लाको पछि लाग्न नहुने बताईन । दुर्गा प्रसाईले निकालेको हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरिन् । ‘बैंक, वित्तिय संस्था र सहकारीबाट लिएको ऋण संस्थाको हैन, सर्वसाधारण जनताको पैसा हो’, उनले भनिन्, ‘जुनसुकै अवस्था तथा कुनै पनि हालतमा ऋण तिर्नुपर्छ । यो कुरा हामीले पनि उनीहरुलाई बुझाउन सक्नुपर्छ ।’
सहकारी दिवसलाई भव्य र व्यवस्थित रुपमा मनाउनको लागि जिल्ला सहकारी संघ, विषयगत सहकारीसंघ तथा सहकारी बैंक, कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय र प्रारम्भिक सहकारी संघ संस्थाका पदाधिकारी तथा सहकारी अभियान्ताहरु सहितको सहभागितामा जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ मूल समारोह समिति गठन गरिएको छ । जसको सह संयोजक युवराज दाहाल र सदस्य सचिवमा राकेश दाहाल रहेका छन् ।
मूल समारोह समितिका सदस्य सचिव तथा जिल्ला सहकारी संघका सचिव राकेश दाहालले दिएको जानकारी अनुसार डिल्ली पोखरेलको संयोजकत्वमा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।
त्यसैगरी विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जसमा जिल्ला बहुउदेश्यी सहकारी संघका अध्यक्ष माधव अधिकारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, नरेन्द्र बस्नेतको संयोजकत्वमा स्वयम सेवक परिचालन उपसमिति, पार्वती बरालको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, विजय कुमार माझीको संयोजकत्वमा झाकी र्याली उपसमिति, विशेश्वर ढकालको संयोजकत्वमा स्वास्थ्य उपसमिति, राजन आचार्यको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति, श्याम कुमार आचार्यको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति र अमृत गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।