विराटनगर/ अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव र सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।
अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापातिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्यरत रहेका छन् । सचिवको उम्मेदवार दिएकी लम्साल बीए अन्र्तगतको राजनैतिक शास्त्र लिएर अध्यनरत छिन्् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिको अध्यक्ष पनि हुन् ।उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सचिवकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितको लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरुलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि पर्ने उनले बताइन् । ‘अहिले क्याम्पसको छात्र र छात्रावास आवास बन्द भएको वर्षौ भइसकेकोछ,’ उनले भनिन्, ‘टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि अवासको व्यवस्था गरिएको थियो । अहिले यो आवास बन्द छ । हामी तत्काल सञ्चालनमा ल्याउन प्रत्यन गर्नेछौं ।’
उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेशका सदस्य तथा युवा नेता देवा यादवले आफ्नो संगठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनावमा लडने बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको बीचमा उम्मेदवारी घोषणा गरिएको हो ।
महेन्द्र मोरङ क्याम्पसमा स्वीयूमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् ।
त्रिभूवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिका अनुसार मतदान चैत ५ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
फागुन २७ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
तपाईको प्रतिक्रिया