खबर पूर्वाञ्चल
प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृत लगायतका कर्मचारीहरुले निर्वाचनको मतपत्रसहित ५९ प्रकारका सामाग्री वुझि आफ्नो मतदानकेन्द्रतर्फ आज साँझ पुग्ने जानकारी दिए । उनले मतदात अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगी निर्वाचन सम्वन्धी सूचना टाँस , सर्वदलीय वैठक आव्हान लगाएका कार्य गर्नु हुने बताए ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पूर्ण मतदान केन्द्र सुरक्षित रहेको र भयरहित एवं त्रास विना मतदान गर्न सबैलाई आग्रह गरे ।
प्रत्येक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाली सेनाको व्यवस्था गरिएकोले ढुक्कसाथ मतदान गर्न मतदातालाई आफ्नो केन्द्रमा जान आग्रह गरे ।
जिल्लामा ३०६ केन्द्रमा ८३९ मतदान केन्द्र र दुई अस्थायी केन्द्र गरी जम्मा ८४१ मतदान केन्द्र रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
जिल्लामा रहेका मतदान स्थल र मतदान केन्द्रलाई अतिसम्वेदनशील , सम्वेदनशील र सामान्य गरेर वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
उनले निर्वाचनलाई निस्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहेको भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरी सुरक्षाको चार घेरा रहने बताए ।
एक मतदान केन्द्रमा आठदेखि १२ जना राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिए ।
मोरङमा प्रतिनिधिसभा तर्फ ६ स्थानका लागि १०५ जना र प्रदेश सभातर्फ १२ स्थानका लागि ११० जना बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी, मतदान स्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाईमा विशेष ध्यान दिन प्रिजिअ दाहालले निर्देशन पनि दिए ।
जिल्लामा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीका दुई हजार ८४ र तीन हजार १६ जना म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
मोरङमा कुल सात लाख ३५ हजार ५२५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्खया तीन लाख ७४ हजार ३२६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार १९३ छन् ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार ६१५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभामा मतदान गर्ने ‘क’मा ६४ हजार ४८२ र ‘ख’मा ५९ हजार १३३ मतदाता छन् ।
निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार ७२९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभाका लागि ‘क’ ६१ हजार ५८ र ‘ख’मा ६३ हजार ६७१ मतदाता छन् ।
निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार ८३३ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७५ हजार ३९३ र ‘ख’मा ७४ हजार ४४०, निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ५७ हजार ३९० र ‘ख’मा ५२ हजार ७०३, निर्वाचन क्षेत्र नं ५मा एक लाख ४९४ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ४७ हजार ४५५ र ‘ख’मा ५३ हजार ३९ तथा निर्वाचन क्षेत्र ६ मा एक लाख २६ हजार ७६१ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७८ हजार ९६४ र ‘ख’मा ४७ हजार ७९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया