खबर पूर्वाञ्चल
मन्त्री भएपछि पटक–पटक विवादमा आएका मन्त्री कार्कीलाई आफ्नै पार्टीका दुई जना बागी उम्मेदवारले कडा चुनौती दिएपछि उनी यतीवेला तनावमा रहेका छन् ।
मोरङ क्षेत्र नं ६ को प्रदेशसभा (२) बाट कांग्रेसका उम्मेदवार मन्त्री कार्कीसँगै कांग्रेसकै जनार्दनराम निरौला र गोपाल रेग्मी चुनावी मैदानमा उत्रिएपछि कार्कीलाई चुनाव जित्न फलामको च्यूरा चपाउनु जस्तै हुने कांग्रेसकै नेता तथा कार्यकर्ताहरू बताउँछन् ।
निरौला र रेग्मी दुवैजना कांग्रेसका प्रदेश समिमतिका सदस्य थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रेग्मी र नेपाली कांग्रेस छोडेर बीपी कांग्रेसको उम्मेदवार बनेका निरौला दुवैले कांग्रेसकै मतदाताको बढी मत काट्ने पक्कापक्की देखिन्छ ।
रेग्मी विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा सडक विस्तारलगायत विकास निर्माणका धेरै काम भएका थिए । त्यसैले उनले लोकप्रिय मत पाउने आशा गरेका छन् ।
क्षेत्र नं ६ को प्रदेश सभा (२) मा विराटनगर महानगरपालिकाका वडा नं ५, ६, ७, ९, ११ र १२ पर्छन् । निरौला पनि कांग्रेसमा लामो समय संघर्ष गरेका र पार्टी सिद्धान्त र नीतिमा चल्नुपर्छ भन्ने विचार बोकेका स्वच्छ छविका उम्मेदवारका रूपमा चिनिन्छन् ।
अघिल्लो चुनावमा कार्कीले आफू जित्न एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितसँग साँठगाँठ गरेको निकै चर्चा थियो । चुला र केला भनेर त्यसताका भएको चर्चा अझै सेलाएको छैन् ।
मतदातामाझ चलेको चर्चा जस्तै त्यतिवेला परिणाम पनि चुला र केलाकै पक्षमा आएको थियो । अर्थात प्रदेश सभा (१) बाट कांग्रेसका चुमनारायण तवदार र (२) बाट केदार कार्की निर्वाचित हुँदा प्रतिनिधि सभातर्फ एमालेका लालबाबु पण्डितले चुनाव जिते । कांग्रेसका डा. शेखर कोइरालाले चुनाव हारे ।
प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार जित्दा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार हार्नु बाघ कराउनु र बाख्रा हराउनु जस्तै भयो । यसपटक पनि एमालेबाट पण्डित र कांग्रेसबाट कोइराला दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश (१) मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) का ज्वाइँ जीवन आचार्य र एमालेकी रीता न्यौपाने चुनावी मैदानमा छन् । सो क्षेत्रका मतदाताहरूले आचार्यलाई ज्वाइँ र एमालेकी न्यौपानेलाई चेलीको रूपमा प्रस्तुत गर्न थालेका छन् ।
चुनाव नजिकिएसँगै ज्वाइँ रोज्ने कि चेली भनेर चर्चा हुने गरेको छ । प्रदेश सभा (२) बाट सत्ता गठबन्धनबाट कांग्रेसका केदार कार्की र एमालेका कृष्ण (पर्शुराम) बस्नेत उम्मेदवार छन् । उद्घोषबाट