खबर पूर्वाञ्चल
प्रदेश १ को टोली १० स्वर्णसहित ७९ पदक हासिल गर्दै पदक तालिकाको छैटो स्थानमा उक्लिएको छ। बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बावजुद नवौमा खेलाडीको प्रदर्शन र टोली पदक तालिकाको छैटो स्थानमा रहनु सन्तोषप्रद रहेको बताएका छन्।
सदस्यसचिव वाग्लेले पदक नतिजामा सन्तुष्ट हुने अवस्था नभएपनि समग्रमा खेलाडी र प्रशिक्षकको लगन र मेहनतबाट बोर्ड उत्साहित भएको बताए । उनले भने, खेलकुदमा खेलाडीले पदक जित्नै पर्छ। त्यसका लागि हामी सबैले अपेक्षा गरेका हुन्छौ । तर त्यसका लागि हामी कति र कसरी लगानि गरेका छौ, हेर्नुपर्छ । हामी शून्य लागानिबाट अघि बढेका थियौ। प्रदेश सरकारले पछि राम्रो सहयोग गर्यो।
उनले यसपटक भएका कमीकमजोरीलाई आगामी दिनमा समीक्षा गर्दै प्रदेश सरकारबाट प्राप्त बजेटलाई खेलाडीको सहभागिता र प्रदर्शन हेरिकन अघि बढ्ने जानकारी दिए । दक्ष जनशक्तिको अभाव, खेलाडीको तयारीमा कम समय लगायतले समग्रमा प्रभाव पारेको उनको भनाई छ । ब्यक्तिको प्रभाव र पहुचको आडमा खेलकुद चल्न नहुनेमा जोड दिदै सदस्यसचिव वाग्लेले भने, हामीले सामूहिक खेलमा बलबुताले भ्याएसम्म राम्रै लगानी गर्यौ । पदक प्राप्त गर्छौ भन्ने धेरै कल्पना नि गर्यौ। तर नतिजा सोचेजस्तो आएन । कराते, तेक्वान्दो, फुटबल, भलिवलमा आशा थियो तर पदकबिहीन अवस्थाले खस्कियौ। यसमा पक्कै सुधार हुनेछ ।
यसअघि, आठौ खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौ स्थानमा रहेको प्रदेश १ यसपटक १० स्वर्णसहित ७९ पदकसहित छैटो स्थानमा उक्लिएको छ । विदेशी नामको एनआरएनएबाट नेपाली खेलाडी नै मैदानमा उत्रिदा त्यसको गरिमा नरहने बोर्डको बुझाई छ । सबै कुराबाट सुसज्जित रहेका तीन विभागिय टोलीसंग स्पर्धा गर्नु चुनौतिपूर्ण रहने गरेको छ ।
प्रदेशका लागि सफ्ट टेनिसमा तीनवटा स्वर्ण जितेका मोरङका युकेश योञ्जनले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न त्यही अनुसारको तयारि हुनुपर्नेमा जोड दिन्छन् । योञ्जनले भने, राष्ट्रिय खेलकुदमा स्वर्णपदक हात पार्ने सबै खेलाडीको चाहना हुन्छ । तर मेहनत गर्नुपर्छ। खेलाडीलाईपनि सम्बन्धित निकायले हेर्नू पर्छ। समयसमयमा खेलकुदका गतिविधि गरिरहनुपर्छ। जसले गर्दा हामीपनि जस्तोसुकै अवस्थामा विपक्षीसंग भिड्न तयार हुन्छौ।
योञ्जनको ३ स्वर्णसंगै पौडीतर्फ विकास कुमालले २, आइटिएफ तेक्वान्दोतर्फ कुसुम राजवंशी, रोशन मगर, वीरबहादुर तामाङ, बक्सिङतर्फ तृषा जगेबु, शारीरिक सुगठनतर्फ अवतार श्रेष्ठले समान १ स्वर्णपदक प्रदेश १ लाई दिलाएकाछन् । पदक तालिकाको छैटोस्थानमा उक्लिएको प्रदेश १ ले सुदूरपश्चिम प्रदेश, एनआरएनए, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई पछाडि राखेको छ ।
प्रदेश १ ले १० स्वर्ण, २२ रजत र ४७ कास्य गरि ७९ पदक हासिल गरेको छ। पहिलोस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १७२ स्वर्ण, १०९ रजत र ८९ कास्यसहित कुल ३७० पदक जोडेर पहिलोस्थानमा रहेको छ।
यससंगै नवौ राष्ट्रिय खेलकुदलाई बिदाई गर्दै अउदो २०८१ सालमा कर्णाली प्रदेशले १० औं राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने भएको छ।