आजदेखि मोरङको कटहरी गाउँपालिकामा राजवंशी सामुदायहरुको महाधिवशेन सुरु भएको हो । पहिलो दिन राजवंशी समुदायबाट निर्वाचित विभिन्न पालिकाका ५ जना प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको छ । सो क्रममा सुनबर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी, गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवंशी र कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीलाई सम्मान गरिएको थियो । यस्तै कटहरी गाउँपालिकाकी उपाध्यक्ष सितादेवी राजवंशी, गौरादह नगरपालिका उपाध्यक्ष जलबर्षा राजवंशीलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित जनप्रतिनिधिलाई पूर्व मन्त्री एवम प्रदेश १ सभा सदस्य ज्ञानेश्वर राजवंशी, प्रदेश सभा सदस्य ज्ञानेश्वर चौधरी र आयोजक संस्थाका अध्यक्ष भीमराज राजवंशीले कदरपत्र र दोसल्लासहित सम्मान गरे । सो अवसरमा बोल्ने वक्ताहरुले राजवंशी भाषासंस्कृतिको संरक्षणमा राज्यले विशेष पहल गर्नुका साथै घरघरमा जागरुकता फैल्याउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, ताजपुरिया कल्याणकारी समाजका अध्यक्ष पूर्णलाल ताजपुरिया लगायतले शुभकामना दिए ।
झापा र मोरङका साथै काठमाण्डौमा समेतगरि राजवंशी समुदायको १ लाख २१ हजार बढी जनसंख्या रहेको कार्यक्रममा बताईएको थियो । सो अवसरमा कलाकारहरुले मौलिक राजवंशी गीतसंगितमा नृत्य समेत गरेका थिए । असार ३१ गते नयाँ कार्यसमिति चयन गर्दै छैठौं महाधिवेशन समापन हुने तालिका छ ।
तपाईको प्रतिक्रिया