नेकपा एमाले मोरङले विराटनगरमा आज स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई ढाडस दिँदै ओलीले अहिले पनि एमाले नै मुलुकको सबभन्दा ठूलो दल भएको दाबी गरे । उनले कांग्रेस, माओवादीलगायतका दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
‘अस्ति एक जनाले भनेको सुन्दैथें’, माओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिन्छौं । एमालेको हालत बनाउने भनेको के हो ? एमालेको हालत बनाइदिन्छु भन्नेको हैसियत जम्मा कम्मर–कम्मर होइन ?’ कार्यकर्ताले हौसिएर ताली बजाएपछि ओलीले थपे, ‘कम्मर कम्मर पनि होइन । घुँडा–घुँडासम्मको पार्टीले एमालेको हालत बनाउने रे । आफू एमालेजत्रो हुन पाए उनले के गर्थे होला? मान्छे कुट्दै हिँड्थे होला । पहिले मान्छे मार्दै हिँडेका थे ।’
अरू सबै दल एकातिर र एमाले एक्लै अर्कोतिर भएर चुनाव लड्दा पनि एमालेले नै सबैभन्दा धेरै मत ल्याएको भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्न खोजे । ‘दुई चार भोटले गर्दा केही ठाउँमा पछि परियो होला । तर, देशभर सबभन्दा धेरै मत एमालेले ल्याएको छ’, उनले भने, ‘अहिले अरूको भागमा देखिएको ठूलो थुप्रो सबैको भाग अलि अलि परेर हो । एमाले बराबर कुनै पनि दल छैन ।’
‘हामीले निराश हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘धेरै ठाउँमा अन्तर्घातका कारण हारियो । मोरङमा अलि कम अन्तर्घात भएकाले धेरै जितियो ।’ उनले एमालेले पुरानो कमजोरी सच्याएर अघि बढ्ने बताए । ‘एमालेका कार्यकर्ता मस्तिष्कले सोचेर अघि बढ्ने खालका हुन्छन् । त्यसैले पुराना कमजोरी सच्याएर अघि बढौं ।’ उनले लोकतन्त्रको लागि यो सरकार अविसाब रेहेको बताए । उनले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरे ।
उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे । अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत बताए । उनले मुलुकमा एमालेमात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।
तपाईको प्रतिक्रिया