खबर पूर्वाञ्चल
उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक पथरी गाविसका अध्यक्ष भइसकेका वडा नम्बर २ मोहनप्रसाद तुम्वापो र उपप्रमुखमा पार्टीकी नगरकै अगुवा नेतृ वडा नम्बर ६ अन्तर्गतको साविक हसन्दहकी देवीमाया काफ्लेको उम्मेदवारीले थप जनलहर सृजना भएको पाइएको छ । बजार क्षेत्रबाटै प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने कुरालाई यसले चिरेर भूगोलको विकटताका हिसाबले पछि परेको हसन्दहलाई समेत उत्तिकै प्राथमिकता दिएकोप्रति खुसी छाएको हसन्दहका मुस्लिम समुदायका एक अगुवा बताउँछन् ।
वडा नम्बर ५ मा अवस्थित भेटघाट चोक पूर्व वालुवाटारका राज राई भन्छन् ‘हाम्रो पछि परेको हसन्दह क्षेत्रबाट एमालेले उपप्रमुखको उम्मेदवार उठाएकोमा खुसी छौं । उहाँले जितेर वक्राहा खोलाको समस्या समाधान गर्न समेत पहल गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’
२०५४ मा एमालेबाट पथरी गाविसका अध्यक्ष निर्वाचित भएका चुस्त कार्यसम्पादनका अनुभवी तुम्वापो पार्टीको हाल प्रदेश सदस्य हुन् । सादगी जीवन विताउन रुचाउने तुम्वापो पार्टीका बौदिक नेता र स्पष्ट वक्ताका रुपमा परिचित छन् । ‘मेरो पहिलेको अनुभवलाई अहिलेको संघीय व्यवस्थाको मर्मसँग जोडेर नगरमा केहि नयाँ कुरा गर्ने मेरो उत्साह छ । त्यसका लागि विजय प्राप्त गर्ने प्रतिष्पर्धामा अगाडि छु ।’– उनले भने ।
जीवनको लामो समय सामाजिक अभियानमा सक्रिय रहँदै आएकी काफ्ले निष्ठाको राजनीति गर्दै समाज रुपान्तरणमा होमिइरहेकी छन् । लगातार तिनपटक पार्टीको जिल्ला सदस्यका रुपमा हालपनि कार्यरत छन् । जननेता मदनकुमार भण्डारीको सामिप्यताको मार्गदर्शनले आफुलाई निष्ठाको राजनीति र सामाजिक काममा हिडाएको उनको भनाइ छ ।
उनले साविक पथरीतर्फको भूगोलमा पनि आफ्नो प्रभाव यसबेला प्रचार प्रसारका रुपमा थप विस्तार गरिरहेकी छन् । ‘सामाजिक काममै जीवन समर्पण गरें । अव एकपटक जनप्रतिनिधि भएर नगरमा सेवा गर्ने मेरो अठोट छ ।’– उनले जित्ने उत्साहका साथ भनिन् । पहिलो कार्यकालमा एमालेबाट नगर प्रमुखमा दिलीपकुमार राई र उपप्रमुखमा एमालेबाटै यमुना विष्ट वास्तोला निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार नगेन्द्र सुब्बा र उपप्रमखकी उम्मेदवार कविता पराजुली वडा नम्बर १ को पथरी बजारका आँगन जोडिएका छिमेकी हुन् । ‘अरुको भोट बाँडिन्छ, हाम्रो कतै नबाढिने भएकाले हामी दुवैले जित्छौं ।’– दुवैको एकैखाले भनाइ छ । पार्टीका पुराना बफादार भएपनि सामाजिक काममा खास सक्रिय नदेखिएका सुब्बाको सवालमा कांग्रेसभित्र नै पनि असन्तुष्टि व्याप्त देखिएको छ । पराजुली सामाजिक काममा सक्रिय भएपनि दक्षिणी क्षेत्रमा उनको पनि सामाजिक उपस्थिती खास छैन ।
नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीको गठवन्धनबाट नगर प्रमुखको उम्मेदवारमा माओवादीका दिननाथ तिम्सिना र नेकपा समाजवादीकी विन्दु राई छन् । दुइमध्ये विन्दुलाई बढी रुचाइएको भएपनि जितका लागि भनें एमालेसँग टक्कर लिन नसक्ने देखिएको वडा नम्बर २ का मतदाता सविन राईको बुझाई छ ।
विन्दु संविधानसभा सदस्य चण्डीप्रसाद राईकी श्रीमती समेत भएकाले उनको सामाजिक सक्रियताले थप भोट तान्ने देखिन्छ । प्रमुखमा कांग्रेससँग र उपप्रमुखमा नेकपा समाजवादीसँग केही प्रतिष्पर्धा हुने मतदाताको विश्लेषण छ । कांग्रेसले जित्ने कोशिसमा बल गरेको भएपनि अन्य गठवन्धनले भनें आफुहरुले जित्ने अवस्था नभएपछि के कसरी हुन्छ एमालेलाई हराउने रणनीति अघि सारेको स्रोतले बताएको छ ।
राप्रपाले पनि यो पटक आफ्नो मत बढाउने देखिन्छ । कांग्रेसको प्रमुखको उम्मेदवारको सन्दर्भले नेकपा समाजवादीले एमाले र कांग्रेसको उस्तै उस्तै रुपमा भोट काट्ने तथा माओवादीको भोट घट्ने भएकाले अघिल्लो निर्वाचनकै जस्तो अवस्था सिर्जना हुने विश्लेषण छ । वडा वडामा युवा उम्मेदवारको संख्या यो पटक सवै दलमा बढेको छ ।
एमालेबाट वडा नम्बर १ देखि १० सम्ममा क्रमश ः भीमकुमार राई, नैनासिंह राई, घनश्याम कोइराला, प्रेमप्रसाद न्यौपाने, उमानाथ अधिकारी, निर्मल कटुवाल, उद्धवराज वस्नेत, नवीनजंग कार्की, भानुभक्त राई र जीवन खतिवडा वडाध्यक्षको उम्मेदवार बनेका छन् । जसमध्ये भानुभक्त राई ९ नम्बरका निवर्तमान वडाध्यक्ष हुन् ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ देखि १० सम्म क्रमशः राजेन्द्र वस्नेत, टीका तामाङ, विजय सुब्बा, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कृष्ण बस्नेत, जीतन राई, टेकबहादुर थापा, वीरबहादुर राई र भूवन थापा वडाध्यक्षको उम्मेदवार छन् । एमालेले २०७४ को निर्वाचनमा पराजय भोगेको वडा नम्बर ५, ६, ८ र १० मा यो पटक जित्ने अवस्था सिर्जना भएको छ ।
५ मा कांग्रेसको अगुवाईमा कांग्रेस र माओवादी मिलेर स्वतन्त्र प्यानलै बनाएपछि कांग्रेसकै भोट काटाकाट भएर एमालेले जित्ने अवस्था सिर्जना भएको छ । ८ मा सामाजिक काम गरेर सवैको प्रीय हुन सफल भएका नवीजंग कार्की र १० का पुराना अनुभवी तथा सामाजिक काममा सक्रिय भएर लामो समयदेखि जिल्ला सदस्य रहिरहेका जीवन खतिवडाको बढी चर्चा छ । राप्रपाबाट नगर प्रमुखमा शम्मरबहादुर राई उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट पुजन राई नगर प्रमुखको उम्मेदवार रहेका छन् ।
२०७४ को निर्वाचनमा वडा नम्बर १, २, ३, ७ र ९ बाट एमालेले अध्यक्ष सहितको प्यानलै जितेको थियो । ४ मा माओवादीले प्यानलै जितेको थियो । ५, ६ र १० मा अध्यक्षमा नेपाली कांग्रेसमा जितेपनि सदस्यहरु मिश्रितरुपमा निर्वाचित भएका थिए ।
भौतिक विकासमै जोड दिइएको अवस्थाका सबै पार्टीको घोषणा पत्र उस्तै उस्तै नै छन् । एमालेले आफ्नो पार्टीको प्रमुख र उपप्रमुख रहेको बेला सुरु गरेको हाल १५ शैयाको नगर अस्पताललाई कम्तिमा २५ शैयाको बनाउने, दीर्घ रोगी र मृगौला पीडितको डाइलासिस उपकरण अस्पतालमै व्यवस्थापन गर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाई अवकास हुँदा दिइदै आएको ६० हजारलाई बढाएर १ लाख पुर्याउनेसहितका एमालेको घोषणापत्रमा उल्लेख छ ।
नगरपालिकाको कार्यालय भवन निर्माण, खोलाहरुमा तटबन्ध, सडक कालोपत्रे, पुल पुलेसा निर्माण, सामुदायिक माविहरुमा ५ वर्षभित्र विद्युतीय कक्षाको व्यवस्थान गरिसक्ने सहितका घोषणा गरिएको छ । भूमि समस्या समाधान लागि सम्बन्धित निकायमा पहल, कृषि, पशुपालन क्षेत्रको विकास, सामूदायिक वनहरुसँगको साझेदारीमा वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, कला, साहित्य र संस्कृतिको संरक्षण, महिला समानता र सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा पनि उसैगरी उल्लेख छ । सुसासन तथा प्रविधिमैत्री वातावरणको पक्षमा पनि घोषणापत्र बोलेको छ ।
दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारी मध्ये १६ जनाले फिर्ता लिएका छन् । नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । वडा अध्यक्षमा ५८, खुला सदस्यमा ११४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको थियो । नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको छ ।
पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेको नगरको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारसँग खुद्रा व्यापारी असन्तुष्ट
मोरङको सुन्दरहरैँचा नगरपालिकाका खुद्रा व्यापारी गठबन्धनबाट मेयरको उम्मेदवार बनेका शिवप्रसाद ढकालसँग असन्तुष्ट बनेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका ढकाल यसअघि सोही नगरपालिकाका मेयर थिए । २०७४ सालको स्थानीय निर्वाचनमा विजयी भएर नगरको नेतृत्व गरेका बेला ढकालले आफूहरुलाई विस्थापित गराउन खोजेको गुनासो उनीहरुको छ । सुन्दरहरैँचामा ३ सयभन्दा बढी खुद्रा व्यापारी छन् ।
उनीहरुले साप्ताहिक हटियामा पसल राखेर व्यापार गर्दै आएका छन् । तर नगरपालिकाको नेतृत्व ढकालले गरेका बेला सबैभन्दा बढी मारमा आफूहरु परेको रेडिमेड कपडा व्यापारी कमल घिमिरेले बताए । उनका अनुसार सुन्दरहरैँचा–८ को सलकपुरमा रहेको साप्ताहिक हटियाको उचित व्यवस्थापनमा ढकालले चासो दिएनन् । उल्टै लथालिंग बनाएर छाडिदिएको घिमिरे बताउँछन् ।
‘खुद्रा व्यापारलाई व्यवस्थित गर्ने भनेर १ वर्षअघि सलकपुर बजारमा रहेका घरटहराहरु भत्काइयो । तत्काल नयाँ संरचना तयार पारेर व्यापारका लागि सहज बनाउने भनियो,’ अर्का व्यापारी गोकुल दाहालले भने, ‘तर अहिलेसम्म खुद्रा व्यापारीका लागि केही पनि गरिएन । मेयरको बोली आश्वासनमै सीमित बन्यो ।’ नगरपालिकाले भएको टहरा भत्काएर नयाँ निर्माण नगर्दा खुद्रा व्यापारी सबैभन्दा बढी मारमा परेको उनको भनाइ छ ।
पसल सञ्चालन गरिँदै आएको टहरा भत्काइएपछि खुद्रा व्यापार चौपट बनेको दाहालले बताए । ‘खुद्रा व्यापारीले पसल गर्दै आएका सबै टहरा भत्काइएको छ,’ उनले भने, ‘अहिले खुला ठाउँमा पसल गर्नुपर्ने बाध्यतामा हामी छौँ ।’ दाहालले निवर्तमान मेयर ढकाललाई पटकपटक भेटेर कुरा राख्दा र निवेदन दिँदा पनि समस्याको सुनुवाई नभएको गुनासो पोखे ।
खुद्रा व्यापार गर्दै आएको ठाउँमा बगैंचा बनाउने तथा व्यापारलाई सहज बनाउन उचित संरचना निर्माण गरेर उपयुक्त स्थानमा स्थानान्तरण गरिने भन्दै टहरा भत्काएर ढकालले विस्थापित गराउन खोजेको गुनासो व्यापारीको छ । खुला ठाउँमा व्यापार गर्नुपर्ने र ढलको उचित व्यवस्थापन नहुँदा वर्षातका समयमा बजारभित्रै पस्ने पानीले सामान भिजेर नष्ट बनाइदिने गरेको घिमिरेले बताए ।
बजार व्यवस्थापन समितिलाई समस्या राख्दा उल्टै थर्काउने गरिएको गुनासो व्यापारीको छ । ‘सुन्दरहरैँचालाई विकासको बगैंचा बनाउँछौँ भन्ने प्रतिवद्धता ढकालले गरेका थिए । त्यही भएर अघिल्लो निर्वाचनमा भोट दिएर विजयी गराएका हौँ,’ एक व्यापारी भन्छन्, ‘तर ढकाल नगरको नेतृत्वमा आइसकेपछि सर्वसाधारणका कुरै सुनेनन् । मनलाग्दी काम गरेर खुद्रा व्यापारीको विचल्ली बनाइदिए ।’
नगरको विकासमा केही पनि योगदान नदिएका व्यक्तिले फेरि पनि मेयर बन्न उम्मेदवारी दिएको देख्दा उदेक लागेको व्यापारी बताउँछन् । ‘हाम्रो समस्या बजार व्यवस्थापन समितिले पनि सुन्दैनन् । न त नगरपालिकाले नै सुन्यो,’ दाहाल भन्छन्, ‘जनप्रतिनिधिको बेइमानीले गर्दा खुद्रा व्यापारीको विचल्ली भएको छ । व्यापार चौपट बनेको छ ।’
निवर्तमान वडाध्यक्ष खेमप्रसाद न्यौपानेले सलकपुर बजारको खुद्रा व्यापारलाई नगरपालिकाले नै अव्यवस्थित बनाएको बताए । ढकाल निर्माण गरेर बजारलाई व्यवस्थित बनाउन पटकपटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको उनको भनाइ छ । यस विषयमा बुझ्न खोज्दा मेयरका उम्मेदवार ढकालले भने फोन उठाएनन् ।
ढकाल कांग्रेस र माओवादीको गठबन्धनबाट सुन्दरहरैँचामा मेयरको उम्मेदवार बनेका छन् । गठबन्धनबाट माओवादीका नवराज चापागाईंले उपमेयरमा उम्मेदवारी दिएका छन् । गठबन्धनको प्रतिस्पर्धी एमालेबाट केदारप्रसाद गुरागार्ईं मेयर र अकलीदेवी चौधरी उमपेयरका उम्मेदवार छन् ।
टोल–टोलमा एमाले उम्मेदवार
उर्लाबारी, २१ वैशाख ।
उर्लाबारी नगरपालिकाको वडा–५ मा नेकपा एमालेका तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुगिरहेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् ।
एमालेले वडा नं. ५ मा यसअघि वडासदस्य समेत रहनुभएका लोकप्रीय युवा रविन लामालाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । यसअघि नगर सभामा वडा ५ को मात्र हैन नगर भरिकै समस्यालाई उजागर गर्दै आएका लामा सबैमा प्रिय मानिनुहुन्छ ।
यस्तै खुल्ला वडा सदस्यमा पनि एमालेले सो वडाकै युवा नेता एवम् एमाले वडा नं. ५ का अध्यक्ष संजिव सुवेदीलाई उम्मेद्वार बनाएको छ । अर्को खुल्ला सदस्यमा गायत्रा भट्टराई, महिला सदस्यमा रामप्यारी तामाङ र दलित महिला सदस्यमा प्रेमकुमारी विकलाई एमालेले उम्मेद्वार बनाएको छ ।
युवा र महिला नेतृत्वले भरिएको टिमलाई एमालेले उर्लाबारी ५ मा उतारेको छ । मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बिचमा रहन सुझाव समेत दिएका छन् । वडा सदस्यको भूमिकामा रहेर लामाले वडाबासीको सेवामा गरेको कामलाई भने मतदाताले प्रशंसा गरेका छन् ।
जनतासँग प्रत्यक्ष जोडिएको पार्टी एमाले भएकाले दैनिक बिहान–दिउँसो –बेलुका घर–दैलो कार्यक्रम भईरहेको एमाले उर्लाबारी ५ का इन्चार्ज एवम् एमाले नगर सचिवालय सदस्य चेतन सिग्देलले बताउनुभयो । ‘हामी मतदाताका बिचमा गईरहेका छौँ,’ उनले भने, ‘जित हाम्रो पक्षमा पार्छाै ।’
……………………….
बूढेसकालमा पेट पाल्न भत्ता दिने एमालेलाई आशीर्वाद
उर्लाबारी, २१ वैशाख ।
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।
घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिए । उहाँहरूले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशीर्वाद समेत दिए । ‘हामीलाई बूढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशीर्वाद छ’, उर्लाबारी –८ की एक बृद्धाले भने ।
मेयर पदका उम्मेदवार यस क्षेत्रकै समाजिक ब्यक्तित्व गंगाप्रसाद खरेल, उपमेयर पदका उम्मेद्वार महिला अधिकारको क्षेत्रमा क्रियाशिल मिना खतिवडा पौडेलसहित वडा अध्यक्ष र वडा सदसयका उम्मेद्वार घरदैलो कार्यक्रममा हुनुहुन्छ ।
उर्लाबारीमा रहेका ९ वटै वडाका टोलटोलमा कोणसभा र मतदाताको सुझाब प्रतिक्रिया लिएर उम्मेद्वारहरु चुनावी अभियानमा रहेको नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।
मेयर पदका उम्मेद्वार खरेलले आफू शासक हैन, उर्लाबारीबासीको सेवन बन्न चाहेको बताउनुभएको छ । निर्वाचित भएपछि उर्लाबारीबासीकै सुझाब र उहाँहरुकै सल्लाहमा म अघि बढ्ने हो, किनकी म यहाँका नागरिकको सेवक बन्न चाहन्छु । गुनाशा र समस्या राख्न भेट्न समय नमिल्ने, भेट्नलाई घण्टौँ कुनुपर्ने, फोन नउठ्ने, चुनाव जितेपछि जनताको घरदैलोमा नआउने काम आफुबाट नहुने खरेलले बताए ।
उर्लाबारी नगरपालिकाका सबै वडा जोड्ने चक्रपथको निर्माण गर्ने एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ । उर्लाबारीमा संचालित बिधुतीय सफारी ट्याम्पोलाई नगर यातयातको अवधारणा बनाएर कार्यविधि बनाएर ब्यवस्थित रुपमा संचालन गरिने एमालेको योजना छ ।
उर्लाबारी बजार क्षेत्रमा बढिरहेको जनघनत्वलाई मध्यनजर गर्दै उर्लाबारी ५,६ र ७ लाई जोड्ने गरी उर्लाबारी चोकमा आकासे पुल निर्माण गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । एमालेको नेतृत्वबाट मात्रै उर्लाबारीमा समृद्धि सम्भव रहेको भन्दै उर्लाबारीको भविष्य बनाउने जिम्मा यहाँकै मतदाताको हातमा रहेको एमालेले जनाएको छ ।
…………………………
शोकलाई शक्तिमा बदल्दै एमालेको घरदैलो
उर्लाबारी, २१ वैशाख ।
यतिबेला स्थानीय निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । तर, उर्लाबारी–७ मा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार रहेकी उर्मिला थापालाई भने यो अवसर प्राप्त भएन ।
उम्मेद्वारी मनोनयन गरेर वडाबासीमा आफ्ना एजेण्डा लिएर जाने योजना बुन्दाबुन्दै उनको श्रीमान्को मृत्यु भयो । अहिले थापा पति शोकमा छिन् ।
उनका श्रीमान वीरबहादुर थापाको गत बिहीबार देहान्त भयो । साविक उर्लाबारी गाविस वडा नं. ४ (हाल उर्लाबारी ७) का वडाध्यक्ष वीरबहादुर थापाको निधनमा यहाँका एमालेजन स्तब्ध र मर्माहत भएका छन् । थापाले २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा साथै ०५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट जित हासिल गरेका थिए ।
पतिको बिँडो थाम्न वडाध्यक्ष बन्न कम्मर कसेर लागेकी उर्मिलालाई परेको यो बज्रपात एमालेजन र आम वडाबासीले राम्ररी बुझेका छन् । पतिशोकमा रहेकी वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला संस्कारगत कारणले चुनावी अभियानमा सहभागी हुन नसकेपनि सिंगो टिमलाई जिताउन कुनै कसर बाकी नराख्ने एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष योगेश बस्नेतले बताए ।
‘वडाका अग्रज व्यक्तिको निधन भएको छ, हामी उहाँको ख्याति र लोकप्रियतालाई कायम राख्ने छौ’ बस्नेतले भने ‘शोकलाई शक्तिमा बदल्दै चुनावी अभियान अघि बढाएका छौ ।’ एमालेले ७ नम्बर वडामा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको बस्नेतले जानकारी दिए । उनका अनुसार दलित महिला सदस्य सीतादेवी विक, महिला सदस्य मनमाया तामाङ, खुला सदस्यहरु राजन दाहाल र हरिप्रसाद ढकाल सहितको टोली आफ्नो टिमका प्रतिबद्धता लिएर घरघर पुगेको छ । वडाबासीको माया, सद्भावले आफूहरु चुनाव जित्नेमा ढुक्क रहेको वडा सदस्य पदका उम्मेद्वार राजन दाहालले बताए ।
दैनिकजसो उम्मेद्वारहरु मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्ने क्रम चलिरहेको छ । घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरिएको छ । सिंगो वडालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफूहरुले योजना बनाएको वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला थापाले बताइन् । ‘म यतिबेला पति वियोगमा छ’ उनले फोन सम्पर्कमा भनिन्, मेरो शरीर घरमै भएपनि मन वडाबासीका घरघरमा पुगेको छ । हाम्रा उम्मेद्वारहरु साझा प्रतिबद्धता लिएर सबैतिर पुग्नुभएको छ । सबैको मतको अपेक्षा गर्दछु ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय थापा हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान गर्दै आएकी उनी उर्लाबारीमा पहिलो महिला वडाध्यक्ष भएर इतिहास कायम गर्ने र उर्लाबारी–७ लाई नमूना वडा बनाउने अभियानमा छिन् ।