पूर्वाञ्चल खबर
इलामको फिक्कलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै खनालप्रति आज कटाक्ष गरेका हन् ।
नेता खनालले शनिबार एमालेको बाकस रित्तो पार्ने बताएपछि खनालकै निर्वाचन क्षेत्रमा पुगेर ओलीले त्यसको जवाफमा भने, ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ उनले भने ।
अध्यक्ष ओलीले भने, ‘हेर्नुहास, एमाले कार्यकर्ताले जुत्ताचप्पल खियाए र पसिना बगाएर अन्तरेजन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने? एमालेले लगाइरहेको सांसदको फूली, मेयरको फूली बोकेर फिर्ता गर्नुपर्दैन? कति साह्रो लाज नभएको?’
ओलीले नेता खनालले नुनको गुन बिर्सिएको भन्दै आगामी निर्वाचनबाट स्वार्थी तत्वहरूलाई मुखभरीको जवाफ दिनुपर्ने बताए । उनले एमालेले कारबाही गरेका १४ सांसदले राजीनामा नदिएकोप्रति आक्रोश समेत व्यक्त गरे । आगामी निर्वाचनमा कसको बाकस खाली हुने जनताले जवाफ दिने बताए ।
‘अहिले यहाँको बाटो भत्किएको रहेछ । यो बाटो बनेको भए अन्तरजन्तरेहरूले मैले बनाइदिएको भन्थे । बाटो भत्किएपछि यहाँका सांसदले मलाई भन्नु पर्दैन । तपाईंहरूले दिएको भोटको भत्ता खाइरहेका छन्’‚ अध्यक्ष ओलीले भने, ‘एमालेलाई कसैलाई भ्रममा पार्नु छैन । २०५४ सालमा एमालेको एकल बहुमत आउन लागेको देखेपछि पार्टी फुटाए । अहिले पनि एमालेलाई रोक्न खोजिरहेका छन् ।’ उनले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले एमालेले बढार्ने दाबी गरे।
‘आगामी निर्वाचनबाट हामी ५ दललाई एउटै कुचोले बढार्छौं । अर्काे चुनाव मैले केही भन्नु पर्दैन । हामी चुनाव मात्रै पर्खिरहेका छौँ’‚ अध्यक्ष ओलीको भनाइ छ ।