खबर पूर्वाञ्चल
नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाले आज कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविन गर्नुपर्ने माग राखेका छन् ।
पारिवारिक नियुक्तिको अखडा बनेको गाउँपालिकालाई आजसम्म भएका सबै नियुक्तिहरुको निष्पक्ष छानबिन गरि योग्यतामा आधारित भई नियुक्त भएका बाहेकको नियुक्ति बदर गरिनुपर्ने पनि माग राखेका छन् । स्वास्थ्य उपचार वापत जथाभावी तोक आदेशबाट वितरण गरिएको खर्चको छानबिन हुनुपर्ने, जथाभावी मनोमानी वितरण गरिएको इन्धन खर्च एवं अन्य प्रशासनिक खर्चको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने माग राखिएको छ ।
यस्तै महालेखा परिक्षणबाट निर्देशन भएका बेरुजुहरु अविलम्व असुल उपर हुनुपर्ने, २०७५ सालमा बाढीको राहत वितरण नगरी फिर्ता गरिएको ४ करोडको विषयमा आम जनताको आन्दोलन ताका भएका सम्पूर्ण सहमतीहरु कार्यान्वयन गरिनुपर्ने र कृषि तथा अन्य क्षेत्रमा भएका वितरणमुखी, सस्तो लोकप्रियता आर्जन गर्ने कार्य तत्काल बन्द गरि कृषिको सामुहिक खेती प्रणाली एवम् जमिनको उपयोगको निति, भू–उपयोगी निति अविलम्ब लागु गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले छानविनको माग राख्दै बुझाएको ज्ञापनपत्रको बोदार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुनसरी इटहरी र आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ को कार्यालयमा पनि पठाएको छ ।
राजश्व रकममा भएको अनियमितता छानविन गर्न माग गर्दै बुधबार बसेको बिशेष गाउँसभा बैठक पनि जनप्रतिनधीहरुले बहिष्कार गरेका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कटहरी गाउँपालिकाले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गरेको भन्दै छानविन गर्नु पर्ने बताएका थिए ।
कटहरी गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पाण्डेले लोहन्द्रा खोलाबाट गिटी बालुवा उत्खनन् गर्न ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरेको र गाउँपालिकालाई १ करोड भन्दा बढी रकम नोक्सानी गर्नुको साथै ठेक्का बन्दोबस्ती कार्यविधिको प्रक्रिया विपरित अनुचित कार्य भएकाले तीन दिनभित्र धारण प्रस्तुत गरिन माग गरिएको बताए । तीन दिन भित्र माग सम्बन्धन नभए चरणबद्ध अन्दोलनमा उत्रिने माओवादी केन्द्रले चेतवनी दिएका छन् ।
निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको र स्थानीय तहको निर्वाचन आउन ६५ दिन मात्र बाँकी रहेको बेला आगामी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले गाउँपालिकाले हतारमा विशेष गाउँसभा गर्नु पनि भ्रष्टाचारको अर्को प्रयत्न भएको आरोप भएको ज्ञापनपत्रमा उल्लेखछ ।
यता कटहरी गाँउपालीका अध्यक्ष रामकुमार कामतले गाँउपालीकाले कुनैपनि काम एकलौटी नगरेको दावी गरेका छन् । नियमअनुसार काम गर्दा आफुहरुलाई फसाउनको लागी अनेक किसिमका आरोप थुपार्ने गरेको कामतको भनाई छ ।