RUMPUM
animated ellipse animated ellipse

सुनसरीको लौकहीमा ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७८, शनिबार ०८:२९
1.48k
Shares
सुनसरी / सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक साँझ ७ः३५ बजेतिर ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बसमा सवार २८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

मृत्यु हुने तीनवटै शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आफ्नै साइडमा गुडिरहेको ट्रकमा विपरीत साइडतर्फ पुगेर बस ठोक्किएको पाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस र ट्रकमा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा जलेर तीन जनाको मृत्यु भएको हो । दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले स्थानीयको सहयोग लिएर घाइतेहरुको उद्धार थालेको थियो । उद्धारमा ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी खटिएका थिए । सुरक्षाकर्मीलाई स्थानीयले पनि साथ दिए । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरी र नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी अरुणकुमार बिसीले सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्दै घाइतेको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईं लगायतका सुरक्षा अधिकारी घटनास्थलमै पुगेर घाइतेको उद्धारमा खटिएका थिए । उद्धारको काम जारी रहेका बेला अचानक बस र ट्रकमा आगलागी सुरु भएको ट्राफिक प्रमुख खतिवडाले बताए । घाइतेहरु बसमा च्यापिएका थिए ।

स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा अचानक आगलागी सुरु भयो,’ उनले भने, ‘धुवाँको मुस्लो निस्किएपछि उद्धार गर्न गाह्रो भयो । तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो ।’दुर्घटनापछि चालकहरु बस र ट्रकभित्रै च्यापिएका थिए । त्यही भएकाले तत्काल बाहिर निकाल्न सकिएन । अचानक आगो सुरु भएपछि त्यहीँभित्र जलेर उनीहरुको मृत्यु भएको हो ।

दुर्घटना र आगलागीबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बस र ट्रकमा कतिजना सवार थिएभन्ने बारेमा यकिन भइसकेको छैन । बसको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर