AArya
RUMPUM
animated ellipse animated ellipse

आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा मुख्य आरोपी अनिल मण्डलसहित तीन जना सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७८, शुक्रबार १३:०७
4.27k
Shares
मोरङ प्रहरीले सार्वजनिक गरेको हत्याको आरोपीहरु, कालो ज्याकेट लगाउँने मुख्य आरोपी अनिल मण्डल । तस्वीर :पुष्पराज थपलिया
विराटनगर । आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

आज बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । यीमध्ये मण्डल मुख्य आरोपी रहेका हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ थेचोेस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरी र लिम्बुको हत्या गर्ने समूह एउटै भएको प्रहरीको अनुस्न्धानबाट खुलेको हो । हत्या भएको तीन जना व्यवसायीक साझेदार रहेको बुझिएको छ ।

डोरीले घाँटी कसेर हत्या गरिएको भनिएका तीनै जना व्यावसायिक साझेदार भएको खुलेको छ । मृतकको शारीरिक बनावट र घटनास्थलमा भेटिएको कपडा तथा कागजातका आधारमा आफन्तले शवको पहिचान गरेका हन् ।

सिरहाका अनिल मण्डलसँग मिलेर उनीहरुले जग्गा लगायतको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । चार जना व्यवसायिक साझेदारमध्ये मण्डलले भारतीय र नेपाली अपराधी प्रयोग गरेर तीन जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

अनिललाई केही दिनअघि नै अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । घटनाका बारेमा केही पनि बताउन नचाहेका उनलाई बिहीबार काठमाडौंबाट विराटनगर ल्याइएको हो । नियन्त्रणमा लिइएकामध्ये दुई जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका थिए ।

लिम्बूको हत्या मंसिर २८ गतेअघि नै भएको प्रहरीले जनाएको छ । श्रेष्ठको पुस ५ गते शव फेला परेको स्थानबाट करिब १०० मिटर उत्तर कमलर कमलपुर जाने नहरमा हत्या भएको पाइएको छ । यस्तै चौधरीको दुई दिनपछि पुस ७ गते शव फेला परेको स्थानबाट १०० मिटर दक्षिण उखुबारीमा हत्या गरेका थिए ।

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन् ।

प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो । हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ । प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको जनाएको छ ।

 

मोहनको हत्यापछि राजेन्द्रकुमार र शम्भुनाथको हत्या

प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेको थियो । घर कम्पाउन्डसहितको थियो ।

व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए । प्रमोदले घर भाडामा दिने निर्णय गरे । त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो । त्यसैक्रममा सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगे । बन्धक बनाए । अनि घाँटी कसेर हत्या गरे । शव भने सोही घरनजिकै खाल्डो खनेर व्यवस्थापन गरे ।

अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई मोरङ बोलाए । दुवैको त्यहीँ हत्या गरे । शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका– ७ स्थित उखुबारी रोजे । फरक–फरक खाल्डो खनेर दुवै शव पुरे, अनि फरार भए ।

मोरङमा दुवैको हत्या एकै दिन भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । ‘२८ मंसिरमा यिनीहरूले मोहनको हत्या गरेजस्तो देखिन्छ । त्यसपछि मोरङमा राजेन्द्रकुमार र शम्भुनाथलाई बोलाएका छन । उनीहरू पनि काठमाडौंबाट छुट्टाछुट्टै पुगेका छन । र, दुवैको हत्या गरेजस्तो देखिन्छ,’ अनुस्न्धान अधिृकतले भने । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ गएका थिए । तर, उनीहरू ४ पुससम्म परिवारको सम्पर्कमा थिए ।

हत्याको कारण आर्थिक कारोबार

हत्या गरिएका शम्भुनाथ चौधरी स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन । उनको काठमाडौं– १७ मा कन्स्ट्रक्सनको कार्यालय छ । श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए ।

प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए । काठमाडौंमा शम्भुनाथको बसाइ क्षेत्रपाटीमा थियो । राजेन्द्रकुमार भने भक्तपुर बस्थे । व्यवसायमा रहेको विवाद नै हत्याको कारण हुन सक्ने अनुस्न्धान अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर