खबर पूर्वाञ्चल
सीमा क्षेत्रमा भारतीले डोजर चलाएको जानकारी पाएपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको टोलीले तत्काल रोकेको थियो । घटनास्थलमा प्रहरी टोली नपुगेको भए भारतीयले फालेको दशगजाको फोहरको डंगुर नेपाल तिर फाल्ने र सडक सम्याएर जाने गरेको स्थानीयको भनाई छ ।
दक्षिण गेट नजिक १८० नम्बरको जंगे पिलर नजिक सीमा क्षेत्रमा भारतको जोगवनी बजार क्षेत्रको फोहर ट्याक्टर र ट्रकमा ल्याएर फाल्ने गरेका छन् । भारतीयले दैनिक ट्याक्टर र ट्रकमा ल्याएर फोहो फाल्दा यहाँका स्थानीय दुर्गन्धले हैरान भएका छन् । सीमावर्ती बजार जोगवनीको बजारबाट निस्किएको फोहोर गाडीमा हालेर दशगजा क्षेत्रमा फाल्दा विराटनगर १६ को हुलास मेटल चौक र दक्षिण गेटका स्थानीय दुर्गन्धले हैरानी व्यहोर्नु परेको उनीहरूको गुनासो छ ।
जोगवनीको बजार क्षेत्र, सडक तथा नालाबाट निकालेको फोहर गाडीमा ल्याएर दशगजा क्षेत्रमा फाल्ने गरिएको विराटनगर १६ का महमद मुस्तार हुसेनले बताए । फालिएको फोहोर सडेर दुर्गन्धमय बन्दा पनि महानगरपालिका र स्थानीय प्रशासनले त्यसलाई रोक्न पहल नगरेको त्यहाका स्थानीयको गुनासो छ ।
दशगजामा फोहरको डंगुर हुँदा स्थानीय दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् । फोहरसँगै भारतीयहरूले मरेको जीवजन्तुहरू पनि ल्याएर दशगजा क्षेत्रमा ल्याएर फाल्ने गरेका छन् । मरेको जीवजन्तु दशगजा क्षेत्रमा फाल्ने र सडेर दुर्गन्धित हुन थालेपछि स्थानीयले सास फेर्न समेत गाह्रो हुने गरी दुर्गन्ध सहेर बस्नुपर्ने बताएका छन् ।